महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध साह पक्राउ

महोत्तरी, महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई प्रहरीले पक्राउ गरेको छ। चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिबको उठिवास गराउने मिटरब्याजी साहलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।

उनलाई महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले नेपालखबरलाई जानकारी दिए।

सुदखोर साहविरुद्ध ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही चलाइने उनले बताए। उनले गैरकानुनी रूपमा चर्को ब्याजदरमा भंगहा गरपालिकालगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गर्ने गरेका हुन्।

सुदखोर साह गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात् १२ गुणासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पति हड्पने उनको लामो सयमदेखिको धन्धा हो। यो धन्दामा उनका दाइ लक्ष्मण साहसहित घरपरिवारका सदस्य पनि संलग्न रहेको आरोप छ। आफूसहित परिवारका सदस्यलाई पनि साहुका रूपमा खडा गरी कपाली तमसुक बनाएर उनले ऋण लगानी गर्ने गरेका छन्।

केही व्यक्तिलाई ऋण नै नदिई समेत कपाली तमसुक बनाएर बिल्लीबाठ गरेको, कतिपय ऋणीसँग साँवा ब्याजसमेत असुलेर उनले अदालतमा मुद्दा दायर गरी घरघडेरी समेत जफत गरेका छन्।

ऋणकै आडमा केही ऋणी महिलालाई यौन सम्बन्ध राख्न समेत आग्रह गरेको आरोप साहलाई लागेको छ। उनको यही गतिविधिको विरोध गर्दा उनले श्रीमतीलाई समेत कुटपिट गरी घरबाट निस्किन बाध्य पारेका छन्।