गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देखाए प्रस्तुती

काठमाडौँ, गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन् ।शुक्रवार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच देशका चर्चित तथा स्थापित हास्य कलाकारहरुले विभिन्न क्षेत्रको समसामयिक अवस्थाको सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन् ।

उनीहरुले विभिन्न पार्टीका शीर्ष नेताहरुका नक्कल (क्यारिकेचर) समेत गरेका थिए । कलाकार जितु नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरेर दर्शक हँसाएका थिए ।  त्यसैगरी उनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितको क्यारिकेचर गरेका थिए । उनले देश भद्रगोल अवस्थामा पुगिसकेको भन्दै अब नक्कल र व्यंग्य नभइ सिधा खबरदारी गर्नुपर्ने बेला भइसकेको बताए ।

वरिष्ठ कलाकार किरण केसीले गाईजात्रे मन्त्रीमण्डलमा पर्यटनमन्त्री बनेको भन्दै होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न कुराहरूमाथि व्यंग्य गरे । उनले राजनीतिको सम्बन्धमा व्यंग्यात्मक कविता पनि सुनाए । कलाकार शैलेन्द्र सिंखडाले मानिसको स्वभावको सम्बन्धमा व्यंग्यात्मक कविता सुनाए । कलाकार दमन रुपाखेतीले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरे । आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीको सम्बन्धमा उनको विषयवस्तु थियो । कलाकार शिवशंकर रिजालले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनलाई विषयवस्तु बनाएर व्यंग्य प्रस्तुती दिए । त्यसैगरी कलाकार श्रीकृष्ण सिंखडाले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरे । साथै उनले चोटिला–चोटिला व्यंग्य कविता सुनाए ।