राष्ट्रिय अनुसन्धानमा भागबन्डाका लागि दरबन्दी थपेर बढुवा

काठमाडाैं, सरकारले राष्ट्रिय अनुसन्धान विभागमा दरबन्दी थपेर विशिष्ट श्रेणीको अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक पदमा दुईजनाको बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अनुसन्धान निर्देशकद्वय हुतराज थापा र ओम जोशीको बढुवा गरेको हो । भागबन्डाका आधारमा यी पद थपिएको हो ।

विभागमा गत वैशाखदेखि नै अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक पद रिक्त थियो । कसलाई बढुवा गर्ने भन्ने विषयमा सहमति नहुँदा यसरी पद रिक्त भए पनि एक दरबन्दी नै थपिएको हो । स्रोतका अनुसार सत्तारूढ दलका नेताबीच नै यस विषयमा विवाद भएपछि सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी एक पद थप गरेको हो ।

प्रशासन र कार्य हेर्ने गरी दरबन्दी थपिएको छ । बढुवा नहुँदा दुवैजनाले १३ भदौमा पदावधिका कारण अवकाश पाउने थिए । अब २३ भदौमा उनीहरूमध्ये एक विभागको प्रमुख हुनेछन् । त्यसरी प्रमुख हुनेले तीन वर्षको कार्यकाल पूरा गरेपछि पनि अर्का अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक बन्ने सम्भावना रहन्छ । यसअघि पनि विभागमा अतिरिक्त प्रमुख अनुसन्धान निर्देशकको पद दुईवटा भएकोमा चार वर्षअघि केपी ओली सरकारले कटौती गरेको थियो । सुरक्षा निकायमा व्यक्तिका लागि उच्च पद थप्ने प्रवृत्ति गुप्तचर विभागमा समेत रहेको छ । नयाँ पत्रिका