मिटरब्याजी पीडितका पक्षमा बाबुराम भट्टराई
काठमाडौँ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंमा धर्ना बसेका मिटरब्याजी पीडितहरूलाई न्याय दिन सरकारसँग माग गरेका छन्।
मिटरब्याजी साहुहरूले उठीवास लगाएको भन्दै नवलपरासी पश्चिमका ६२ पीडित माइतीघर मण्डलामा धर्नामा बसेका छन्।
नौ दिनदेखि धर्नामा बसेका उनीहरूलाई मासिक ५ देखि ८ (वार्षिक ६०–९६) प्रतिशत ब्याज लिएर उठीवास लगाएको नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले उल्लेख गरेका छन्।
न्याय माग्न धर्नामा बसेका ६२ जना गरिब किसानको पीडा नसुनेको भन्दै डा. भट्टराईले सरकारको आलोचना गरेका छन्।
‘मासिक ५–८% (वार्षिक ६०–९६%) ब्याज लिएर गरिब/किसानलाई उठीवास पार्ने मिटरब्याजी सुदखोर/ठगहरूलाई सरकारले कठोर दण्ड गर्नुपर्नेमा उल्टै नवलपरासी पश्चिमका ६२ पीडितहरू ९ दिनदेखि धर्नामा बस्दा सरकार कानमा तेल हालेर बस्नु निन्दनीय छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तुरुन्त छानबिन गरी अपराधीलाई कडा कारबाही होस्।’