सडक खन्ने क्रममा भीरबाट लडेर सैनिकको मृत्यु

हुम्ला, कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भीरबाट लडेर मृत्यु भएको छ। नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भीरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो। भीरबाट लडेर एकजना घाइते भएका छन्। कर्णाली करिडोर निर्माणका क्रममा भीर छिचोल्न बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछानेको मृत्यु भएको हो।

सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियारको भनाइ छ। घाइते विष्ट र लामिछानेको शव हेलिकप्टरमार्फत बिहीबार नै सुर्खेत लगिएको छ। टाउकोमा चोट लागेका विष्टको उपचार नेपालगन्जस्थित सैनिक अस्पतालमा भइरहेको बताइएको छ। रासस