म हुँ ‘अछुत’

बिहानीको उषा सँगै
सुकेका तर बज्रसमानका पाखुराले
आरनको छेउमा
थोत्रो टोपीले पसिना पुछ्दै
मालिले फुललाई आकार दिए जस्तै
फलामलाई आकार दिएर औजार बनादिए
ती पानी नचल्ने लोहारले ।
जसले मेरो जीविका जिउँदो छ ।

फाँटहरुका लिलि फुलझैँ
संसारको फाँटमा फिजिएका
अनगिन्ती फुलहरु
जसमा तिमी र म समेत छौँ ।
हाम्रो सौन्दर्य फुलाइदिए ती अछुत बाजेले ।
अनि
ईश्वरले दिएको नाङ्गो शरीरमाथि
मानिसले बाँधेको लाजको घेरा छोपेर
सभ्य मानिस कहलियौँ तिमी र म ।

धर्तीमाथी ठिङरिङ्ङ परेका
खन्चुवा रक्तप्यासी राक्षसका दाह्रा जस्ता
चुच्चे-बुच्चे ढुङ्गा सँगै उभिएका
नरकका शुलरुपि काँडा
जो तिम्रो र मेरो पदचापको पर्खाइमा छन ।
आतुर छन छाला छेडेर तातो रगत पिउँन ।
तर ! कठै ती धर्मी चमार काका !
तिनले बनाएको जुत्तामाथी गौरवको साथ उभिएर
तिनीलाईनै कुल्चिदै छन
तिम्रा र मेरा अधर्मी पाउ ।

प्रकृतिको आँगनमा
युगको नवीन आविस्कारको निम्ति
नयाँ पुस्ताको सुरुवातको निम्ति
वृक्षले फल फलाउनु पुर्व फुलेका राताम्मे
फुलजस्तै फुलेकी ती युवती ।
जसले प्रकृतिको प्रतिनिधित्व गर्दै छिन ।
दुर्भाग्य ! ती प्रकृतिकी नायिकाको स्पर्श
चल्दैन तिमी र मैले आविष्कार गरेका देउतालाई ।

अँ साच्चै !
कति दिनको औंसी काट्नुपरेको हो
तिमी र म जन्मिदा हाम्री आमाले ?
उनले पाप गरिनन् सन्तान जन्माएर ।
यदि पाप हो भने त्यो पाप तिमी र म हुँ ।
यदि पुण्य हौं भने, पुण्य उनले गरिन ।
उनी त जीवन र मृत्युको महायुद्ध लडेर आइन,
सृजना र विध्वंसको महासंग्राममा उनी जितिन
जीवन र सृजनाको पक्ष लिएर ।
जसको उपहारमा दियो हाम्रै समाजले
अछुतको उपमा ।

भनत!
के सहि थियौं तिमी र म ?
के सहि थियो यो सभ्यताले लाएको
छुत र अछुतको पर्खाल ?
दोष उनमा थिएन जसले
तिम्रो र मेरो जीविका बचाइदिए,
जसले हाम्रो लाज छोपेर सभ्यताको
न्यानो आवरण पहिर्‍याइदिए ।
जसले सबैको अगाडि गौरव गर्न लायक बनाए ।
अनि जसले फुलाइदिए
तिम्रो र मेरो जीवनको फुल ।
अहँ ! कोहि अछुत थिएनन् ।

वास्तविक अछुत को ?
कसैको सीप र सृजनाको सम्मान जसले गरेन,
कसैको त्याग र बलिदानिको मूल्य बुझेन,
जसले अहंकारको जुत्ता पहिरिएर
कुल्चिलह्यो निर्दोष छाती,
अनि जसले बुझेन प्रक्रुतीको स्वर्णिम नियम ।
उसलाई के भन्ने ?

जसले बुझेन
उ भित्रको ईश्वरीय स्वभाव,
जसले बुझेन
सबै जीवभित्रको दिव्य आत्मा ।
जो सत्य सात सुर्य झैँ चम्किरहेछ,
त्यही सत्य देखेनन तिम्रा र मेरा
सात रंग चिन्ने सुन्दर आँखाले ।
सिङ्गो समुन्द्रको बिचमा पसेर
भेद खोजिरह्यौँ पानीका प्रत्येक कणकणमा ।
प्राकृतिको सुन्दर सृजना नचिन्ने
अनि ईश्वरको सन्तान नचिन्ने
यहि सभ्यताले सिर्जेको पाखण्ड मध्य
एक तिमी हौ अछुत
अनि अर्को म हुँ अछुत ।