छोरीले दुर्व्यवहार सहने कहिलेसम्म ?

बाटो हिड्दा होस् या घरमा बस्दा, पसल जाँदा होस् या मल जाँदा, स्वदेश हुँदा होस् या विदेश हुँदा, बसिरहँदा होस् या उठिरहँदा, क्याम्पस जाँदा होस् या स्कूल जाँदा , पार्टी प्यालेस जाँदा होस या आन्दोलनमा होमिदा ! जहाँ रहेपनि छोरी मान्छेलाई दुर्व्यवहार सहन पर्छ । बाटो हिँड्दै गर्दा रक्सीले मातिएको छोरालाई आज यसलाई के भएछ पियर मरेछ भन्ने समाजले, त्यही बाटोमा छोरीले रक्सी पिएर हिँड्न पर्छ आकाश खस्छ । बाटोमा केटी जिस्काउँदा छोरालाई केही नहुने छोरा हो, यति त सामान्य हो भन्ने समाजले आफ्नो छोरीलाई त्यसबाट बच्न भन्छन् । सधैं दुर्व्यवहार छोरीले सहनु पर्ने ? यदि कसैले जिस्काएको भए भत्सर्ना गर्यो भने नाटक गरी बोलाएकी थिई होला यस्ता त कति हुन कति वचनका तिरहरू । कसैको दुर्व्यवहार सहनै परे चोट सहन आँट गरौं, सहनै परे खुकुरीको धार सहने आँट गरौं, सहनै परे ज्यानको बाजी लगाएर आफ्नो अधिकार सहेर बसौँ। कहिले काँही यात्रा गर्दा साईडमा नराम्रो मान्छे पर्दा कति सम्हालिएर बसेका हुन्छौं, कहिले काँही हिँड्दै गर्दा कति सम्हालिएर हिँडेका हुन्छौं ।

त्यस्तै मानिसहरू सधैं सही नियतका भेटिन्छन् भन्ने हुँदैन तर पनि हामी सम्हालिएर हिड्छौ किन् भने हामी छोरी हौँ । हामीलाई अरूले केहि भन्छन् कि भन्ने डर हुन्छ, हामीलाई केही समस्या भए आमालाई गाह्रो होला, बालाई गाह्रो होला, समाजले के भन्ला, बा-आमाको समाजको अगाडी शिर झुक्ला, भोलि दाईभाइले साथीको वचन सहन नपरोस् भन्ने डर हुन्छ र हामी सम्हालिएर हिड्छौ । समाजमा सबै गलत हुन्छन् भन्ने हुँदैन तर पनि सही कोही पनि हुँदैन, हामीले गलत कुराको भत्सर्ना गर्न खोजे पनि हाम्रो मुख बन्द गराउने तै समाज हुन्छ । जसले सद्भावमा, संस्कारमा र इज्जतमा दाग लाग्छ आँच आउँछ भन्ने भ्रम छरेर छोरीलाई कुम्ल्याएर राखेका हुन्छन् ।

छोरीलाई गलत नगर भन्नुको साटो यदी कहीँ अरुकै कारण समस्या आइपरे पनि त गतिलो हुन पर्छ भनेर अरूको नै हौसला बढाइएको हुन्छ । यदि छोरा र छोरी एउटै हुन् भन्छौ भने खोइत समानता ? छोराले जे गर्दा पनि सुहाउँछ छोरीलाई गरे गलत किन् हुन्छ ? छोरीलाई तल किन् पारिन्छ ? समाज प्रति बा-आमा प्रति त दुवैको अधिकार समान छ भनिएको छैन त ? किन् गर्छौ विभेद ? छोराले मान्छे काट्दा पनि मर्द हो ! यस्तो सामान्य हो भनी हौसला बढाउने यही समाज होइन र जसलाई समाजमा खुलेर बाँच्ने अधिकार दिइएको छ । समाजमा यस्ता थुप्रै कुराहरू छन् जसले गर्दा अपराधी बढ्दै गएका छन् । कुनै छोरी मान्छेलाई उसको घरपरिवारबाट पूरा बन्देज लगाइएको हुन्छ कि कतै इज्जत फाल्दिन्छे कि भनेर छोरालाई ५ दिन घर नआउँदा पनि वास्ता छैन ।

इज्जत संस्कार सिकाइयोस् दुवैलाई गलत गर्दा सामना गर्न आँट दिइयोस् कि सबै कुरा सजिलै पार लगाउन सकुन् तर छोरीलाई तल देखाउने काम बिल्कुल सुहाउँदैन । छोरी अलि पर जाउन्जेल हेर्छन् ,छोरा जता जाओस् मतलब गर्दैनन्,छोरीलाई गर्दा मात्र इज्जत जाने होर के छोराले गर्दा इज्जत जाँदैन ? जवाफ चाहिएको छ दिन सक्छ समाजले ? साँझ–बिहान घरबाट छोरो डुल्न निस्कँदा हामी कोही पनि “छोरी मान्छेलाई नजिस्काउनू । दुव्र्यवहार नगर्नू” भन्दैनौँ । तर, त्यही घरकी छोरी साँझ–बिहान घरबाहिर निस्कि भनेँ “बाटोमा के कस्ता मान्छे भेटिन्छन्, ख्याल गरेर जानू । अनि छिट्टै घर आउनू” भन्न बिर्सँदैनौँ । त्यही छोरी घरबाट निस्कँदा भन्ने विषय र छोरा घरबाट निस्कँदा भन्ने विषयमा किन अन्तर छ ? यी कुरा हरेक घरमा भनिने विषय भएकाले सामान्य लागे पनि छोरालाई भनिने र छोरीलाई भनिने यी दुई वाक्यले समाजको दृष्टिकोण र सामाजिक मनोविज्ञानलाई बोकेको छ ।

यही मनोविज्ञानको आधारमा समाजको धारणा बनेको छ । छोरा र छोरीलाई हेर्ने दृष्टिकोण स्थापित छ । यही कुरा छोरालाई सम्झाउने हो भने हाम्रो समाजमा छोरीलाई सजिलै अगाडि बढाउन सक्छौं र बा आमालाई छोरी जन्माइन भने ढुक्कले बाँच्न सकुन् र छोरी हुनुमा छोरीलाई गर्व गर्न सकूँन्। यही समाज छ गलत सिकाउने अनि गलत भयो भने कुरा आफै काट्छन् एउटै उमेर समुहका छोरा र छोरी समाजमा छन् भने छोरा कति सजिलै स्वतन्त्र हुन सक्छ तर छोरी स्वतन्त्र भई भने बिग्री सकी कसैले लिदैन, काम लाग्दैन यस्ता त कति हुन कति वचनको तिरहरु सहँदै छोरी बस्नु पर्ने हुन्छ र त्यही छोराले त्यही समुहकी छोरीलाई भन्छन् काम लाग्ने वाला होइन विक्न गाह्रो छ यस्ता त कति हुन कति सहनुपर्ने । हामीलाई छोरी हुँदै गर्दा गर्व लाग्न पर्ने होइन र हामी हरेक कुरा सहन्छौं । “महिनावारीको ५ दिन सहन्छौँ, समाजको बोझ सहान्छौं,भान्साको बोझ आगोको धुवाँ सबै सहन्छौँ, बा-को इज्जत जाला यो भारी नथाकी नथाकी सहन्छौँ, आमालाई बाको वचनबाट पिटाइबाट बचाउन हरेक जुक्ति लगाउँछौ, बाको वचन आमाले खेप्न नपरोस् त्यो पनि जिम्मा लिन्छौं र आमालाई खुशी बनाउन जे भन्छन् त्यो मान्छौं,हामी छोरीलाई त्यही पनि कमजोर सम्झन्छन्, बिहे पछिको आफन्त, नातागोता, छरछिमेक, दायाँबायाँ सबै त्यही छोरीलाई चाहिने त्यो पुगेन भने विभिन्न वचन सहने कति ठूलो आँट भाको मुटु पाएका छौ हामी छोरी मात्र धर्ती हुने कहिले सधैं सबैल टेक्ने, कुल्चने अनि हामी सहेर बस्नु पर्ने कहिले सम्म हो समाज ? छोरा जन्मजात बलियो, पराक्रमी, सुरो छ ।

ऊ समाजमा लैङ्गिक हिसाबले सुरक्षित पनि छ भन्ने मानसिकताको विकास गर्नका लागि “छोरी मान्छेलाई नजिस्काउनू ,दुव्र्यवहार नगर्नू” जस्ता वाक्य काफी छन् । हामीले छोरालाई बाटो हिँड्दा केटी नजिस्काउनु किन भन्दैनौँ । बरु उनीहरूलाई अग्रज पुरुषले सुनाउँछन् गर्वले सुनाउँछन् केटीलाई जिस्काएको कुरा…..आदी इत्यादी । यस्ता भनाइलाई स्वीकार गरेर घोषित या अघोषित रूपमा केटी मान्छेमाथि शासन जमाउनका लागि घरपरिवार र समाजले बल दिई नै रहेको हुन्छ । छोरीलाई तल देखाउन गरिनेछ व्यवहार कहिलेसम्म जारी राख्न सक्छ यो समाजले ? एकातिर छोरालाई लैङ्गिक भेदभाव नगर, नहेप, नजिस्काऊ नभन्ने अर्कोतिर छोरी मान्छेलाई दुव्र्यवहार नसहनू नभन्ने हाम्रो सामाजिक मान्यताले थुप्रै लैङ्गिक अपराध निम्त्याएको छ ।

त्यही लैङ्गिक अपराध मध्येको एक बलात्कार पनि हो । खास गरी बलात्कार पुरुषले महिलालाई गर्नुको पछाडी माथि उल्लेख गरेजस्तो सयौँ सन्दर्भहरू जोडिएर आउँछन् । बलात्कार गर्न लगाउने पनि समाज नै हो र मेरो छोरी बलात्कार भयो भनी सरकारलाई औंला उठाइरहेका हुन्छन् । बलात्कार समाज हो जसले छोरालाई कहिले पनि सिकाउँदैन नारीलाई जिस्काउनु हुँदैन, दुर्व्यवहार गर्नु हुँदैन भनेर । हाम्रो समाजले छोरीलाई इज्जत र छोरालाई कुलसँग जोडेर व्याख्या गर्छ । छोराले कुल बढाए पुगिहाल्छ । छोराहरूको चरित्र कस्तो हुनुपर्छ भनेर कतै पनि भनिँदैन । छोराहरू चरित्र जस्तो बनाए पनि छोराहरू हुन् लायक छन् । । किन कि उनीहरूको चरित्रको बारेमा व्याख्या नै गरिएको छैन । छोरालाई व्यक्तिगत स्वतन्त्रता प्रशस्तै छन् । उसका पाइला चाल्नका लागि कतै लगाम छैन ।

केवल उसले पराक्रम देखाएर कुल बढाए पुग्छ ।त्यसको ठिक विपरीत छोरी कुलको इज्जत हो । इज्जत धान्नका लागि उसका व्यक्तिगत स्वतन्त्रता, न्याय अन्यायका बारेमा बोल्न पाउने अधिकार छैन । कसैकी छोरी बलात्कृत भई भने उसको परिवार छरछिमेक आफन्त सबैजना ढाकछोप गर्नतिर लाग्छन् । व्यक्तिगत रूपमा उसले न्याय पाउनुभन्दा पनि कुलको इज्जतको डर बढी हुन्छ । समाजले सामान्य मान्छेलाई झैँ बलात्कारको शिकार भएकी छोरीलाई आमछोरीको रूपमा स्वीकार नै गर्दैन । छोरीको चरित्रको बारेमा पाइलापाइलामा व्याख्या गरिएको छ । “छोरीको इज्जत” एउटा सामाजिक सीमित घेरा मात्र हो । जसले छोरीहरूलाई बोल्न, आँखा उठाउन, खुट्टा चाल्नका लागि सिमाना निर्धारण गर्छ । छोरीमान्छेमाथिको सामाजिक सीमित घेराले छोराहरूलाई व्यक्तिगत स्वतन्त्रतामा कावा खेल्नका लागि अहम भूमिका खेल्ने गर्छ ।

अबका दिनमा सचेत, सभ्य, विद्वान् पुरुषवर्गले सामूहिक रूपमा बलात्कारविरुद्धका सामाजिक अभियान सुरु गर्नुपर्छ । “हामी विश्वास दिलाउँछौँ, हामी कसैलाई बलात्कार गर्दैनौँ” भन्ने साहस बोकेका सकारात्मक चेतना बोकेका नारा सार्वजनिक रूपमा लिएर आउन जरुरी छ । यसरी चेतनशील वर्गले बलात्कारका विषयमा सचेतनामूलक कार्यक्रम गरिदिने हो भने सामान्य वर्गका मानिसका लागि प्रेरणा र सकारात्मक सन्देश जानेमा कुनै सन्देश रहने छैन । महिलावर्ग पुरुषवर्गबाट लुकेर भागेर छलिएर मात्र बलात्कारजस्ता अपराधको न्यूनीकरण हुने छैन । बरु छोरा वर्गलाई नै सानैदेखि केटीमान्छेलाई समानभावले हेर्ने मानवीय दृष्टिको विकास हुने खालको चेतनाको विकास गराउन सकियो भने अपराधको मूल जरा नै कमजोर हुने थियो । यस्ता घटनामा समाजले खेलेको भूमिकालाई पनि कमजोर बनाउन हामी अग्रसर हुन पर्छ।

समाजले पनि चेलीको इज्जतमा खेलेको भूमिकालाई सीमित रेखामा राखेर खेल्नपर्छ र सबैलाई खबरदार गर्न सिक्नु पर्दछ, सानो उमेरमा बिहे गर्दा हुने फाइदा बेफाइदा सुनाउँदै छोरा-छोरीलाई पढ्दा र घरबार जोड्दा हुने फाइदा बेफाइदा सुनाउँदै मिलेर अगाडि बढ्न जरुरी छ हैन भने कसैलाई दुर्व्यवहार गर्ने र कसैलाई स्याबास दिने काम नगरेकै ठीक हुन्छ । हामीले यो समाज जोगाउन महिला र पुरुषमाथि बनेका विभेदयुक्त सामाजिक मान्यता, सामाजिक मनोग्रन्थी, सामाजिक दृष्टिकोण, सामाजिक परम्परा, सामाजिक मनोविज्ञानलाई परिवर्तन गर्नसक्नुपर्छ । उच्च चेतनाको समुन्नत समाजको अभियानमा जुट्न बाँकी नै छ । समाज सधैं सफलताको अग्रसर तिर लम्किरहेको देख्न पाउँ भोलि कसैकी छोरीलाई रुँदै गाँस निलेको देख्न नपरोस् ,भोलि कसैको छोरो बर्बाद भएको देख्न नपरोस्, हाम्रो समाज समृदी होस् ।