दिल्ली हुँदै सुटुक्क काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु
काठमाडौँ, अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनिश्चित बनेका बेला वरिष्ठ अमेरिकी अधिकारी लु भारतको नयाँ दिल्ली हुँदै नेपाल आइपुगेका हुन्।
लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा नेपाल आएको जनाएको छ। दुई दिने भ्रमणमा रहँदा सहायक विदेशमन्त्री लुले नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई अवार्ड फर कर्पोरेट एक्सलेन्स प्रदान गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।
कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्ने गरेको दूतावासले जनाएको छ। सहायक मन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।