सीसीटीभी फुटेज ९० दिनसम्म सुरक्षित राख्न गृहको निर्देशन

 काठमाडौँ, गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज ९० दिनसम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको हो ।

गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो । मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सीसीटिभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ ।मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ । सिंहदरबारभित्रको सीसीटीभीको निरीक्षणरअनुगमन नेपाल प्रहरीको सिंहदरबारभित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रस्ट पारेको छ ।

अर्थ मन्त्रालयमा रहेको सीसीटीभी फुटेज १३ दिनमै मेटिएको भनिएपछि गृहमन्त्रालयले कार्यविधिअनुसार ३ महिनासम्म सुरक्षित राख्न निर्देशन दिएको हो । सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ अनुसार सीसीटीभीबाट खिचेका दृश्यहरू कम्तीमा ३ महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गते करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ ।

बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा संसदीय विशेष छानबिन समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाएको थियो । प्रयोगशालाले जेठ १४ गतेको फुटेज पनि रिकभर गरेको जनाएको छ । उक्त फुटेज भने प्रस्ट नभएको समितिका एक सदस्यले बताए ।