कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा
विराटनगर, युवतीलाई होटेलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरका दुईजना कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता भएको छ। नशालु औषधी सेवन गराई फोटो भिडियो बनाएर पटक–पटक सामूहिक बलात्कार गरेको आरोप सुनसरीको इटहरी उपमहानगरपालिकानिवासी १९ वर्षीया युवतीले लगाएकी छिन्।
किटानी जाहेरीका आधारमा मोरङ प्रहरीले कराँते प्रशिक्षक विराटनगर–४ का ५० वर्षीय सुरज सुवेदी र सोही उमेरका प्रकाश राउतलाई पक्राउ गरेर अदालतमा मुद्दा दर्ता गराएको छ। प्रहरीका अनुसार विराटनगरको कञ्चनबारीस्थित विराट हेल्थ कलेजमा अनुशासन इन्चार्जका रूपमा कार्यरत सुवेदीले सोही कलेजमा अध्ययनरत छात्रालाई परीक्षाको बहानामा डरत्रास देखाई, औषधि सेवन गराई बेहोस बनाएर करणी गरेका थिए।
आफूले बलात्कार गरेपछि आफ्ना साथी प्रकाश राउतलाई पनि सहभागी गराएर उनले पटक–पटक होटेलमा लगेर दुई महिनादेखि सामूहिक करणी गरेको युवतीको आरोप छ। सुवेदी र राउतले युवतीसँग बलात्कार गरेको फोटो भिडियो बनाएर उनलाई ब्लाकमेलिङ गरेर पटक–पटक बलात्कार गरेको युवतीले आफ्नो जाहेरीमा खुलाएकी छिन्।