‘हनि ट्रयाप’ मा संलग्न आरोपमा श्रीमान-श्रीमतीसहित तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले ‘हनि ट्रयाप’ मा पार्ने श्रीमान-श्रीमतीसहितको गिरोहलाई पक्राउ गरेको छ । हनि ट्रयापमा पारी पैसा असुल्ने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-६ घर भई बौद्ध बस्ने ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरि खड्का र भक्तपुरको बालकोट बस्ने २८ वर्षीय सञ्जय कार्की छन् ।
पक्राउ परेका कल्पना र कृष्णहरि खड्का पति-पत्नी रहेको प्रहरीले जानकारी दिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले यही साउन १ गते उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार कल्पनाले सामाजिक सञ्जालबाट पुरुषलाई खाजा खाने बहानामा रेष्टुरेण्टमा बोलाएर भेट्ने गर्थिन् । भेटेपछि झूटा मुद्दा लगाएर फसाउँछु भन्दै तीनै जना मिलेर ब्ल्याकमेलिङ गर्ने गरेका थिए ।
सञ्जय कार्कीले नक्कली इन्स्पेक्टर बनेर धम्क्याउने र रकम तिर्न बाध्य बनाउने गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । पीडितको परिवारलाई साथी बनाएर उनीहरुले नक्कली निरीक्षकसँग कल्पनाले गरेको कुराकानीको अडियो पनि पठाउने गरेका थिए ।
उनीहरुविरुद्ध आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।