भाजपाले भन्यो–‘दाहालको भ्रमण सम्बन्धका लागि कोसेढुंगा’

नयाँ दिल्ली, भारतीय जनता पार्टीले नेपालका पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दहालको भ्रमण दुई प्रमुख राजनीतिक दलहरूबीचको सम्बन्धका लागि कोसेढुंगा सावित हुने जनाएको छ । भाजपा अध्यक्ष जेपी नड्डाले भाजपा र माओवादी केन्द्रबीच गहिरो सम्बन्धलाई धेरै तहमा प्रवर्द्धन गर्न तयार रहेको बताएका छन् । भाजपाद्वारा जारी प्रेस नोटमा दाहालको भ्रमणले दुई देश र समाजबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

‘भाजपालाई जानौं’ भन्ने अभियान अन्तर्गत माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पनि भाजपा कार्यालय र यसको कार्य सञ्चालन विधिबारे जानकारी गराइएको बताइएको छ । दाहालसँगको भेटमा पार्टी अध्यक्ष नड्डाले नेपाल सधैं भारतको ‘पहिलो छिमेकी’ नीतिको केन्द्रमा रहने बताएका थिए ।

दुवै देशका प्रधानमन्त्रीहरूको हालै भएको भ्रमण आदानप्रदानले दुई छिमेकीबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको उनले उल्लेख गरेका थिए । यस्तै उनले माओवादी केन्द्रका युवा नेताहरूको प्रतिनिधिमण्डललाई भारतमा छिट्टै स्वागत गरिने बताएका छन् ।

भाजपा कार्यालयमा दाहालले दुवै पार्टीको विचार फरक भए पनि विपन्न वर्गको उत्थान गर्ने उद्देश्य साझा रहेको बताए । उनले भूकम्प र कोभिड महामारीका बेला नेपाललाई सहयोग गरेकोमा भारतलाई धन्यवादसमेत दिएका थिए ।

जलविद्युत, पर्यटन नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण खम्बा भएको उल्लेख गर्दै दाहालले यी दुई महत्त्वपूर्ण क्षेत्रमा भारत सरकार र निजी क्षेत्रलाई सहकार्य गर्न आग्रह गरे । उनले भारतले नेपालको विद्युत खरिद गर्न थालेकोमा खुसीसमेत व्यक्त गरेका थिए ।

दाहालले भारतसँगको व्यापार घाटा चिन्ताको विषय भएको भन्दै त्यसका लागि भारतको सहयोग चाहिने बताएका थिए ।समाधान गर्न बाँकी रहेका सबै समस्याहरू आपसी विश्वास र मित्रताको भावनाका आधारमा समाधान गरिनुपर्नेमा उनको जोड थियो ।

भाजपा कार्यालयमा विदेश मन्त्री एस. जयशंकर, पार्टीको विदेश विभाग प्रमुख विजय चौथाईवाला पनि उपस्थित थिए । आपसी भेटघाट र छलफलपछि नड्डाले दाहाललाई भाजपाको केन्द्रीय सम्मेलन कक्ष, पुस्तकालय, मिडिया रुम लगायत क्षेत्रको भ्रमण गराएका थिए ।

माओवादी अध्यक्ष भने तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्किसकेका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले आफू भ्रमणबाट आशावादी बनेको प्रतिक्रिया दिएका थिए ।