माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने

काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ ।

प्रचण्ड भोलि शुक्रबार दिउँसो १ बजे नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। प्रचण्ड दुई दिन भारतमा रहनेछन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाजपा मुख्यालय भ्रमण गर्ने बताइएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले केही दिनअघि प्रचण्डलाई भाजपा अध्यक्ष नड्डाको निम्तो हस्तान्तरण गरेका थिए। नेपालमा बढ्दो अमेरिकी सक्रियता र चिनियाँ चासोबीच अध्यक्ष प्रचण्डको दिल्ली यात्रा तय हुनुलाई अर्थपूर्ण मानिएको छ।

स्रोतका अनुसार नजिकिँदो चुनावमा वाम शक्तिबीच तालमेल हुन्छ कि भन्नेमा दिल्ली चिन्तित छ। प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा दिल्ली भ्रमणमै रहेका बेला प्रचण्ड पनि भारत जान लागेका हुन्। ‘अध्यक्ष प्रचण्डको दिल्ली यात्राका लागि केही महिनायता गृहकार्य भइरहेको थियो, नयाँ भारतीय राजदूत यहाँ आउनासाथ केही दिनअघि मिति टुङ्गो लागेको हो’, जानकार स्रोतले भन्यो।

अध्यक्ष प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।