उपेन्द्रलाई बाबुरामको आग्रह : सल्लाह गर्न आउनुस्

ठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि आग्रह गरेका छन् ।

काठमाडौंको जडिबुटीमा आजदेखि शुरु भएको आफू पक्षीय केन्द्रीय समितिको बैठकमा उनले भोलिदेखि वीरगञ्जमा हुन लागेको केन्द्रीय समितिको बैठकलाई गुटको बैठकको संज्ञा दिए । बैठक रोकेर वार्तामा आउन उनको आग्रह छ ।

उनले बैठकमा आफ्ना कुरा राख्न दिन समेत आग्रह गरेका छन् । ‘कुनै बाउआमाले आफ्नो सन्तानलाई मार्दैन । त्यस्तै हो, हामी पनि पार्टी फुटाउन चाहन्नौँ । अवैध र गुटको बैठक स्थगित गरेर सल्लाह गर्न आउनुहोस्, बैठक बसौं’, उनले भने, ‘त्यहाँ आएर हामी गलत रहेछौँ भने हामीलाई नङ्ग्याउनुहोस् । तर, बैठकमा हाम्रो कुरा राख्न दिनुहोस्, म उपेन्द्रजीलाई अनुरोध गर्छु ।’ उनले आफूरूको पार्टीमा कालो बादल मडारिरहेको पनि बताएका छन् ।

आफनो पक्षमा २३० केन्द्रीय सदस्यको हस्ताक्षर रहेको बाबुरामको दाबी

जनता समाजवादी पार्टी नेपालका २३० जना केन्द्रीय सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरेको डा बाबुराम भट्टराई पक्षले जानकारी दिएको छ । बाबुराम निकट स्रोतका अनुसार आज बिहान बसेको बैठकमा २३० जनाले हस्ताक्षर गरेको बताएइएको हो ।

‘तर केन्द्रीय समिति बैठकमा १०६ जना केन्द्रीय सदस्यले मात्र रजिस्ट्रेसन गराएका छन् नि,’ भन्ने प्रश्नमा स्रोतले बैठकमा आएका धेरैले रजिस्ट्रेसन नगरेको र अहिलेसम्म आफूले पनि नगरेको बताए । पार्टीमा केन्द्रीय सदस्यको कूल सङ्ख्या ४९९ रहेका छन् । उनले २३ जना सांसदमध्ये १० जना आफूहरूको पक्षमा रहेको पनि बताए।