माओवादी केन्द्रको स्थायी समितिमा कर्णालीबाट मात्रै चार जना
सुर्खेत , नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेको छ । पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकबाट ४१ सदस्यीय स्थायी समिति घोष्णा गर्नुभएको हो ।
तत्कालीन नेकपाकालीन १५ जना खारेजीमा परेका र थप २६ जनालाई समेटेर ४१ सदस्यीय स्थायी समिति बनाइएको छ । केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कूल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समिति बन्ने विधानको व्यवस्था अनुसार अध्यक्ष प्रचण्डले स्थायी समिति तोक्नु भएका हुन् । पोलिटब्युरोको संख्या बढेसँगै स्थायी समिति पनि केही ठूलो भएको छ । ४१ सदस्यीय स्थायी समितिमा कर्णाली प्रदेशबाट मात्रै (जनार्दन शर्मा, शक्ति बस्नेत, कालीबहादुर मल्ल र महेन्द्रबहादुर शाही) चार जना परेका छन् ।
माओवादीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष सहित १५ सदस्यीय पदाधिकारी, ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था थियो । तर यी तीनै समितिको आकार अहिले ठूलो हुन पुगेको छ । माओवादीको गत पुसमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष मात्रै चयन गरिएको थियो ।