तुइन चुँडिएर १८ वर्षीय किशोर महाकाली नदीमा बेपत्ता

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठालघाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारतबाट घर फर्किने क्रममा व्याँस गाउँपालिका-२ का १८ वर्षीय सचिव बुढाथोकी बुधबार महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

file photo

भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्किने क्रममा सचिन बुढाथोकी तुइन चुँडिएर महाकाली नदीमा बेपत्ता भएको ब्यास गाउँपालिका-२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले जानकारी दिए ।

बेपत्ता भएका किशोरको खोजीका लागि घटनास्थलमा अहिले सुरक्षाकर्मी पुगेका छन् । बेपत्ताको खोजीमा महाकाली किनारमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटिरहेका छन् । गत वर्ष दार्चुलाकै सीमा क्षेत्रस्थित महाकाली नदीको तुइन भारतीय सुरक्षाकर्मीले काटिदिँदा एक नेपाली नागरिक बेपत्ता भएका थिए ।