माओवादी केन्द्रको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं, नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनेको बैठक बुधबारसम्माका लागि स्थगित गरिएको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार आन्तिरीक कामका लागि बैठक स्थगीत गरिएको हो ।

प्रवक्ता महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ बजे बस्नेछ । आजको बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने र समापन गर्ने तय भएको थियो । यो कार्यसूची अब बुधबारका लागि सरेको छ ।

१९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्ज/अध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने धारणा राखेका थिए ।

पदाधिकारी चयनको गृहकार्यमा माओवादी

नेकपा (माओवादी केन्द्र) जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेर पदाधिकारी चयनको गृहकार्यमा जुटेको छ । केन्द्रीय कमिटी बैठकमा तत्काल पदाधिकारी चयन गर्न चर्को दवाव आएपछि पार्टी सोको तयारीमा जुटेको हो ।  आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका थिए । गत पुसमा भएको महाधिवेशनले प्रचण्डलाई अध्यक्षमा चयन गरेपनि वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–६, महासचिव–१, सचिव–३, कोषाध्यक्ष–१ सहित १४ वटा पद खाली छ।