माओवादी नेतृत्वलाई केन्द्रीय सदस्यको सुझाव अब आफ्नै खुट्टामा उभिऔँ
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)को बैठकमा पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्नेलगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन्। राजधानीमा जारी माओवादीको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेकाे राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै नेताहरुले पार्टीको पदाधिकारी चयन तत्काल हुनुपर्ने, सहरी क्षेत्रमा पार्टी किन कमजोर भयो भन्ने बारेमा स्पष्ट दृष्टिकोणका साथ विशेष अभियान सञ्चालन गर्नुपर्ने, पार्टी सञ्चालनका लागि स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन्।
यस्तै पार्टीको साङ्गठनिक अवस्थाको सुधारका लागि ७५३ वटै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टी समिति परिचालित हुनुपर्ने, तालमेलभन्दा पनि आफ्नै बलबुतामा उभिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ। त्यस्तै स्थानीय तहको हालै सम्पन्न निर्वाचनमा अन्तर्घात गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने, त्यसो नगरेको खण्डमा पार्टीलाई आगामी दिनमा थप घाटा हुने उनीहरुको भनाइ थियो।
आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले १० पृष्ठको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । त्यस्तै छलफलका लागि नौ वटा प्रस्तावसमेत पेस भएको छ। लामो समयपछि बसेको बैठकमा केन्द्रीय सदस्यले खुल्लारूपमा छलफलमा भाग लिएका छन् भने नेतृत्वको तथ्यसहितको आलोचना गरेका छन्। उनीहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा माओवादी इमान्दर भए पनि नेपाली कांग्रेसले आफूलाई मात्रै फाइदा हुने गरी गतिविधि गरेको भन्दै आगामी दिनमा विचार पुर्याउनसमेत नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा जानुपर्ने, पार्टीको क्रान्तिकारी चरित्रलाई थप स्पष्ट पार्नुपर्ने, आफूले जितेका स्थानीय तहमा उदाहरणीय काम गर्नुपर्ने र जनतालाई नयाँ आधारमा सङ्गठित गर्नुपर्ने केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन्। यस्तै विभिन्न धारामा विभक्त भएको माओवादी आन्दोलनलाई नयाँ आधारमा सङ्गठित गर्नुपर्नेसमेत उनीहरुको भनाइ छ।
छलफलमा भाग लिने केन्द्रीय सदस्यलाई अध्यक्ष प्रचण्डले दुई मिनेटको समय दिएको भए पनि विषयवस्तुको गाम्भीर्यताका आधारमा १५ देखि २० मिनेटसम्म पनि धारणा राखेका थिए । खुल्लारूपमा छलफलमा सहभागी हुन पाएको भन्दै बैठकमा बोल्ने अधिकांशले पार्टी बनाउने सङ्कल्पसमेत गरेका थिए। केन्द्रीय सदस्य देवीप्रसाद ढकालले निकारागुवाको उदाहरण दिँदै त्यहाँको सान्डानिस्टा पार्टी शान्ति प्रक्रियामा आएपछि तीन पटक निर्वाचन हारे पनि सन् २००६ देखि लगातार विजयी हुँदै आएको र नेपालमा पनि माओवादीको विजय सुनिश्चित रहेको बताए। उनले निर्वाचन हार्दैमा पार्टी नसकिने भन्दै आफ्नो सिद्धान्त र धार छाड्न नहुने बताए।