कम्युनिस्ट आन्दोलन संक्षिप्त सिंहावलोकन – ३

मार्क्सले भनेका थिए, ‘मार्क्सवादको सारतत्व संसारलाई बुझ्नु मात्रै होइन, बदल्नु नै यसको मुख्य सारतत्व हो ।’ फ्रेन्च दार्शनिक एटनी बलिवार कम्युनिस्ट प्रतिबद्धता, कल्पना र राजनीतिमाथि गहिरो दृष्टि राख्दै भन्छन्, ‘संसार बदल्न इच्छा राख्ने मान्छे कम्युनिस्ट हो र उसले सबैभन्दा पहिला आफूलाई बदल्छ अनि सम्पुर्ण बदल्न संगठित उत्तरदायी हुन्छ ।’ यी उक्ति अनुसार प्रकृति, मानव समाज र राजनीतिक प्रणालीमा कम्युनिस्टले विद्यमान मूल मुद्दाबारेमा सोच्नुपर्छ र समस्याको गहिराइ पहिचान गर्नुपर्छ । अर्को शब्दमा शोषणमुलक सबै युगव्यवस्था वा अन्तिममा पुँजीवादी समाज व्यवस्थाको आधारभूमि, उत्पादन र विनिमय अथवा मोडल तथा उत्पादन र विनिमय पद्धतिले उत्पन्न गर्ने सबै सकारात्मक तथा नकारात्मक पद्धति परिचालनका कारण उत्पादित सामाजिक अन्तरविरोध र सीमाबारे बुझेर त्यस अनुरुप परिवर्तनको आवश्यकता ठम्याएर संगठित उत्तर खोज्ने कोसिस गर्नुपर्छ ।

कम्युनिस्ट व्यक्ति म बाट हामी भावमा रूपान्तरण हुन सक्नुपर्छ । कम्युनिस्ट व्यक्ति समाज अनुसार होइन कि समाज भन्दा एक कदम अगाडि हुन सक्नुपर्छ । त्यसपछि नयाँ ढाँचामा सुधार, रूपान्तरण, क्रान्ति, मुक्ति र सभ्यता के स्थापित गर्ने हो भन्ने टुंगोमा पुग्न सकिन्छ । त्यसैले कम्युनिजम भनेको विचार मात्रै होइन अर्थात् विचारको सुरक्षा गर्नु मात्रै पनि होइन, वस्तुगत परिस्थिति अनुसार अस्तित्वमा नरहेका वा रहेका तर बहुमत श्रमजीवी जनताविरुद्धका व्यक्तिवाद, अवसरवाद, निजि स्वार्थ, गलत प्रवृत्ति मात्र होइन, पुरातन संस्कार, संस्कृति र राजनीतिक व्यवस्थालाई बिदा गरी सर्वथा नयाँ समानतायुक्त, सत्य एवं शोषणरहित परिपाटीको स्थापना गर्ने दृढ प्रतिबद्धता तथा इच्छाशक्ति कार्यान्वयनको पाटो कम्युनिस्टजनको उद्देश्य रहनुपर्छ । विचार र सिद्धान्तलाई जे जति मात्रामा सम्भव हुन्छ स्वयं आफ्नो हकमा वा संगठित रूपमा कार्यान्वयन गर्नुपर्छ । कम्युनिस्टजनमा सिद्धान्त र व्यवहारबीच सकेसम्म खाडल हुनुहुँदैन । यहाँनेर र यी प्रश्नमा नेपालको कम्युनिस्ट आन्दोलन नराम्ररी चुकेको तितो यथार्थतामा ध्यानाकषिर्त हुनु जरुरी छ ।

नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न भड्कावमा फस्ने र अन्ततः दक्षिणपन्थी संशोधनवादको शिकार हुने गरेको छ । कुनै अवस्थामा ठोस परिस्थितिको ठोस विश्लेषणको नाउँमा यथास्थितिवादको शिकार भएको देखिन्छ भने कतिपय स्थितिमा उग्रवामपन्थी भड्काव तथा वामपन्थी संकृणतावादी प्रवृत्तिमा रुमलिदै अन्ततः दक्षिणपन्थी संशोधनवादमा पतन हुने गरेको पनि देखिन्छ । कुनै अवस्थामा विभिन्न बहानामा प्रतिगामी एवं राजावादी र प्रतिक्रियावादीपरस्त रुझानमा लटनपटन भएको अवस्था पनि देखिन्छ । यी सबै अवस्था व्यक्तिगत स्वार्थ र गलत प्रवृत्तिका कारण पैदा हुन्छन् र त्यसलाई पर्दा हाल्न विभिन्न बहाना बुन्ने गरिन्छ । विस्तारै विस्तारै यी प्रवृत्ति अवसरवादी भड्कावमा रुपान्तरण हुन्छन् । तर कम्युनिस्ट आन्दोलनभित्र नकारात्मक पाटोमात्रै छैन, इतिहासदेखि हालसम्म यी विभिन्न प्रकारका अवसरवादी भड्काव, चिन्तन र प्रवृत्तिविरुद्ध सम्झौताहिन संघर्षसमेत हुँदै आएको छ । कम्युनिस्ट आन्दोलन क्रान्तिकारी नीति सिद्धान्त र विचारको सुरक्षाको लागि निर्मम संघर्षले भरिएको इतिहास पनि छ । यद्यपि सिद्धान्त र व्यबहारबीचको खाडलभने उत्तिकै देखिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासको विश्लेषण गर्दा न्युक्लस र गोरखपुर सम्मेलन यी दुई क्रान्तिकारी ध्रुवबीच एकता हुन नसकेता पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको सुरक्षा र विकासका निम्ति पुष्पलाल र मोहनविक्रम नेतृत्वका दुबै समुहले आ-आफ्नो ठाउँबाट नेपाली जनवादी कार्यक्रमको योजना र प्रचारप्रसारमा तात्कालिक समय परिस्थिति अनुसार उल्लेख्य योगदान गरेको कुराले इतिहासमा ठुलो महत्त्व रहेको देखिन्छ ।

कम्युनिस्ट आन्दोलनले कतिपय परिस्थितिमा आवश्यकता अनुसार कारबाही, विद्रोह र फुटका लागि ठिक ठिक कदम उठाएको भएपनि आफ्नो जीवनकालका धेरै जस्तो टुटफुट र विवादहरु अनावश्यक रूपमा व्यहोर्नुपरेको तितो इतिहासलाई पनि स्वीकार गर्नैपर्छ । ०३१ सालको चौथो महाधिवेशनसम्म आइपुग्दासम्म कम्युनिस्ट आन्दोलन राजावादी तथा दक्षिणपन्थी अवसरवादी धार, उग्रवामपन्थी धार र क्रान्तिकारी धारमा विभाजित भैसकेको थियो जुन विभाजन स्वभाविक नै थिए । पार्टीमा विभाजनको त्यस प्रक्रियामा मूलतः राजावादी तथा दक्षिणपन्थी संशोधनवादी धारामा राजतन्त्रवादी रायमाझी समूह र खु्रश्चोभ पक्षीय राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम स्वीकार्ने तुलसीलाल समूह रहेका थिए । उग्रवामपन्थी धारामा २०२८ सालमा झापामा सशस्त्र विद्रोह गर्ने समूह नै रहेको थियो ।क्रान्तिकारी धारामा मार्क्सवाद, लेनिनवाद र माओविचारधारा तथा नयाँ जनवाद पक्षधर वा यस धारामा पुष्पलाल समूह र ०२८ सालमा केन्द्रीय न्यूक्लियस गठन गरि २०३१ सालमा चौथो महाधिवेशन सम्पन्न गरेको मोहनविक्रम समूह रहेका थिए । रायमाझी, तुल्सीलाल र झापा विद्रोहको टुटफुट हुनु नीतिगत हिसाबले स्वभाविक थियो तर पुष्पलाल र मोहनविक्रम समुहबीच एकता हुन नसक्नु दु:खद थियो । यसबारे अघिल्लो लेखनमा चर्चा भैसकेको छ ।

२०२८ सालमा सशस्त्र झापा विद्रोह गर्ने समूहले २०३२ सालमा कोअर्डिनेशन कमिटी (कोके माले) समूह गठन गरेर अगाडि बढ्यो । यस समूहले पनि जनवादलाई मूल राजनीतिक कार्यनीति तय गर्‍यो । २०३५ साल साउन ७ गते पुष्पलालको निधन भयो । यतिबेलासम्म पुष्पलाल समूहले आफ्नो नीतिमा कुनै फेरबदल गरेको थिएन । कोअर्डिनेशन कमिटी (कोके माले) ले २०३५ पुस ११ गते पार्टी पुनर्गठन गरेको थियो । मूल राजनीतिक कार्यदिशा नयाँ जनवादलाई कायमै राख्यो र माक्र्सवाद, लेनिनवाद र माओविचार धारालाई पथप्रदर्शक सिद्धान्त अंगिकार गर्ने नीति लियो । तर यस क्रममा पनि नीति र सिद्धान्तका आधारमा नेपाली कम्युनिस्ट आन्दोलन एकता र ध्रुवीकरण हुनुको साटो विभाजन र उपविभाजनका क्रम अझै अगाडि बढे । पुष्पलाल समूहमा विभाजन प्रक्रिया अगाडि बढ्यो । राष्ट्रिय साँस्कृतिक मोर्चा, रोहित समूह, रुपलाल समूह आदि बने । पुष्पलालबाट अलगिएको राष्ट्रिय मुक्ति मोर्चा समूह झापा विद्रोह समूहबाट बनेको माले सुमहमा आबद्ध हुन पुग्यो । यस क्रममा विभिन्न खाले कहिले फुट त कहिले एकीकरण र ध्रुवीकरणका प्रक्रिया पनि अगाडि बढे । यो शक्ति ध्रुवीकरण भइ एमाले बनेपछि आफ्नो पाचौं महाधिवेशनबाट यसले स्पष्ट रूपमा दक्षिणपन्थी नीति अख्तियार गर्‍यो । वर्गसंघर्षको कार्यदिशा परित्याग गर्दै वर्ग समन्वय र संसदीय राजनीतिक लाइनलाई मुख्य मार्गदर्शक सिद्धान्तको रूपमा अंगिकार गर्न पुग्यो । अहिलेसम्म आउदा यो शक्तिको नेतृत्व तह दलाल तथा नोकरशाही पुँजीवादको चरीत्रमा पतन भैरहेको दु:खद अवस्था रहेको छ ।

क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको अवनतिको कोणबाट विश्लेषण गर्दा यो विवाद र फुट खासै रणनीतिक रुपको सैद्धान्तिक आधारमा मतभेद नरहेको अवस्थामा पनि पुष्पलालसँगको फुट झैं मोहनविक्रम र निर्मल लामाबीचको फुट पनि अनावश्यक विवाद एवं फुटको रूपमा रहेको देखिन्छ ।

यता केन्द्रिय न्युक्लसबाट मनमोहन र शम्भुराम निष्कासित भएपछि मोहनविक्रमको नेतृत्वमा २०३१ सालमा चौथो महाधिवेशन सम्पन्न भयो । यसमा नयाँ जनवादको आधारभूत राजनीतिक कार्यक्रम र देशभक्त तथा जनतान्त्रिक शक्तिहरुको सरकारको मूल राजनीतिक कार्यनीति पारित गरियो । तात्कालिक न्युनतम कार्यक्रम, व्यापक संयुक्त मोर्चा, आर्थिक राजनीतिक संघर्ष र पार्टीको क्रान्तिकारी भुमिका लगाएतका कार्यनीतिक विषयको विश्लेषण र निरुपणसहित चौम एउटा शक्तिशाली क्रान्तिकारी पार्टीको रूपमा स्थापित भयो । चौथो महाधिवेशनले तेस्रो महाधिवेशन देखि त्यो बेलासम्मको गम्भीर मुल्यांकन एवं सिंहावलोकनसमेत गरेको थियो । महाधिवेशनबाट मोहनविक्रम सिहं महामन्त्री चुनिएका थिए ।

चौमको आधारभुत कार्यक्रम, तात्कालिक राजनीतिक कार्यदिशा र पार्टी संगठनलाई मिलिटेन्ट एवं बोल्सेविक बनाउने नीति अनुसार तथा कार्यकर्ता र जनताले आशा गरे अनुसार व्यबहारमा पार्टीबाट ती नीति कार्यान्वयनको पाटो भने कमजोर देखियो । पार्टीभित्र फेरि क्रान्तिकारी र अवसरवादी पक्षको नाउँमा अस्वस्थ अन्तरसंघर्षहरु चल्न थाले । सैद्धान्तिक एवं नीतिगत भन्दा पनि व्यक्ति केन्द्रित आलोचना एवं टकरावमा आधारित अस्वस्थ विवादहरु सृजना हुनथाले । यी नेतामुखि व्यक्तिगत कुण्ठा, रिस एवं अस्वस्थ आरोपलाई सैद्धान्तिक लेपन लगाएर एकापसमा एकले अर्कोलाई दक्षिणपन्थी र अर्कोले अर्को पक्षको नेतृत्वलाई व्यक्तिवादी, यौनवादी, चरित्रहिनका अत्यन्तै नीच प्रकारका व्यक्तिगत आरोपप्रत्यारोप लाग्न थाले । एकप्रकारले यो दशक व्यक्तिगत चरित्रहत्या र गालि गलौजको दशक बन्यो । झापा विद्रोह गर्ने समूहले मोहनविक्रमलाई राजावादी एवं गद्दारको आरोपसम्म लगाए । यी सबै गैरराजनीतिक एवं गैरमार्क्सवादी तरिका थिए । त्यसको प्रभाव चौम भित्रपनि रहेको थियो । यहीँ क्रममा २०३५ सालमा मोहनविक्रम विविध कारणले कारबाहीमा परेपछि निर्मल लामा नेतृत्वमा आएका थिए । त्यसपछि मोहनविक्रम र निर्मल लामाबीचको विवाद अनावश्यक रूपमा झन्झन् चुलिन थाल्यो ।

यस्तै यस्तै विवादकै क्रममा निर्मल लामा पनि पार्टीबाट कारबाही परेपछि ०३६ सालताका भक्तबहादुर श्रेष्ठ महामन्त्री बनाइए । ०४० सालमा आउँदासम्म लामा निष्कासनमा परेपछि उनले चौमको छुट्टै गठन गरेका थिए भने मोहनविक्रम जलजला काण्डको कारणले पुनः कारबाहीमा रहेको अवस्थामा चित्रबहादुर केसीले पार्टीको महामन्त्री हुने अवसर पाएका थिए र पार्टीको नाउँ नेपाल कम्युनिस्ट पार्टी (मसाल) राखिएको थियो । यसरी ०३१ सालको चौथो महाधिवेशनद्वारा बनेको एउटा शक्तिशाली क्रान्तिकारी पार्टी चौथो महाधिवेशन एक दशकको समयमै अनावश्यक रूपले छिन्नभिन्न अवस्थामा पुगेको थियो । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको अवनतिको कोणबाट विश्लेषण गर्दा यो विवाद र फुट खासै रणनीतिक रुपको सैद्धान्तिक आधारमा मतभेद नरहेको अवस्थामा पनि पुष्पलालसँगको फुट झैं मोहनविक्रम र निर्मल लामाबीचको फुट पनि अनावश्यक विवाद एवं फुटको रूपमा रहेको देखिन्छ ।

मोहनविक्रम र निर्मल लामाबीच खास मतभेद कुन कुरामा थियो ? यी दुइ जना क्रान्तिकारी हस्ती जसले करिबकरिब तीन दशक एकमना एकताको सम्बन्ध स्थापित गरेका थिए तर करिब ३ वर्षको कार्यनीतिक सवालमा देखिएको अन्तरविरोधको समाधान भने सम्भव हुन सकेन । के ती मतभेदका कारण फुट्नु मात्रै विकल्प थियो ? यसबारे गम्भीरतापूर्वक अध्ययन अनुसन्धान गरि यस कालखण्डको पनि मुल्यांकन गर्नु जरुरी देखिन्छ । मोहनविक्रम र निर्मल लामाबीच पनि तत्कालीन कार्यनीति सम्बन्धि नै मतभेद सृजना भएको थियो । उनीहरुको बीचमा मुख्य रूपमा ०३६ सालमा घोषित जनमत संग्रहको निर्वाचन उपयोग गर्ने कि बहिष्कार गर्ने र पंचायती व्यवस्था अन्तर्गतका चुनाव बहिष्कार गर्ने कि उपयोग गर्ने भन्ने विषयमा मतभेद देखिन्छ, जुन मतभेद कार्यनीतिक सवालका मतभेद थिए । पार्टीले जनमत संग्रहको निर्वाचन बहिष्कार गरेर निरंकुश शाही पंचायती व्यवस्था विरुद्ध आन्दोलनको नीति लिएको थियो भने लामाको जनमत संग्रहको निर्वाचनमा भाग लिनुपर्ने मत थियो । शाही सरकारले पंचायती व्यवस्था विरुद्ध उठेको आन्दोलन रोक्न जनमत संग्रहको पासो फालेकोले त्यो बहिष्कार गरेर आन्दोलन नै अगाडि बढाउने पार्टीको नीति सहि थियो । लामाले उठाएको मतले तात्कालिक सन्दर्भमा कार्यनीतिक रूपमा गलत नै थियो । तर अन्यमध्य झापा समुहवाहेक सबै शक्तिहरु पनि उपयोगको पक्षमा रहेकोले पंचायती व्यवस्था विरुद्धको आन्दोलन सशक्त हुन सक्ने वातावरण बिथोलिन पुग्यो । अन्ततः आन्दोलन प्रभावित भएपछि पार्टीले निर्दल र बहुदलमध्य बहुदलको प्रगतिशील भुमिका हुनेहुँदा जनमत संग्रहको निर्वाचनमा बहुदलको पक्षमा मतदान गरेर जनमत संग्रहमा भाग लिएको थियो । तर यहीँ र यस्तै कार्यनीतिक मतभेदको आधारमा पार्टी फुट्ने अवस्थासम्म पुग्नु वा पुर्‍याइनु गलत थियो । आखिर जनमत संग्रहमा निर्मल लामाको मत अनुसार उपयोग गर्ने परिस्थिति सृजना भइ उपयोग हुँदासमेत मतभेदको समाधान निस्किएन । त्यस्तै कतिपय कार्यनीतिक एवं राजनीतिक सवालका कारण पार्टी फुट्नु दु:खद नै थियो । त्यसैले रणनीतिक प्रकारको सैद्धान्तिक मतभेद होइन कि सामान्यतया अन्तरविरोधको समाधान गर्ने विधि र अन्तरसंघर्षको क्रममा दुश्मनीपुर्ण भावना, कुण्ठा एवं अस्वस्थ छलफलकै क्रममा लामा र मोहनविक्रम छिन्नभिन्न हुन पुगेको तथ्य इतिहास बोल्छ ।

यो अन्तरविरोधको क्रममा पार्टी नेतृत्वले निर्मल लामा नेतृत्वको अल्पमत पक्षलाई दक्षिणपन्थी विश्लेषण गर्दै पार्टीको केन्द्रिय सदस्यबाट हटाएपछि केन्द्रिय सदस्यद्वय सुर्यनाथ यादव ( केशव ) र जयगोविन्द साह ( महेश ) ले केन्द्रिय समितिबाटै राजीनामा दिएका थिए । त्यसक्रममा तत्कालीन केन्द्रिय समिति विघटन गर्नुपर्ने अवस्था सृजना भएको थियो । अन्ततः लामालाई सि. आइ. डी. समेतको आरोप लागेको थियो । यस प्रकारका सबै तौरतरिका सामान्यतया अन्तरविरोधको समाधान गर्ने विधि र अन्तरसंघर्षको क्रममा दुश्मनीपुर्ण भावना, कुण्ठा एवं अस्वस्थ छलफलकै क्रमका उपज थिए । यस कालखण्डमा, यस सम्बन्धि तथ्यहरु धेरै छन् जुन सबै उल्लेख गर्न संभावना छैन तर केहि उदाहरण भने दिन आवश्यक छ ।

यस सम्बन्धमा २०४० सालमा गोरखपुरमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनको ‘चौथो महाधिवेशनभित्र देखापरेको दक्षिणपन्थी अवसरवादको सिंहावलोकन’ शिर्षकको दस्तावेजमा भनिएको छ, ” का. निर्मल लामाका गलत राजनीतिक सोचाइ र गलत तौर-तरिकाको लामो पृष्ठभुमि भएपनि उहाँको त्यस प्रकारका सोचाइहरुका विरुद्ध दुई लाइनको संघर्ष – मैत्रीपुर्ण र सामान्य प्रकारले नै – चल्दै आइरहेको थियो । तर गत एकाध वर्षदेखि उहाँको मतभेद र अन्तरपार्टी संघर्षले गलत दिशा र रुप लिनथालेको छ । र अब त्यो दक्षिणपन्थी भड्कावमा परिणत भएको छ । त्यसका पछाडि उहाँमाथि प्रभाव बढाउदै लगिरहेका गलत तथा अवाञ्छित तत्वहरुको षड्यन्त्रमूलक भुमिकाको विशेष स्थान र महत्त्व छ ।” ( रातो तरबार पेज नं १८६ )। यसै दस्तावेजमा अगाडि भनिएको छ, “अब उहाँले त्यस प्रकारका फुटपरस्त तत्वहरुको वकालत गर्दै हुनुहुन्छ । त्यस प्रकारका फुटपरस्त र पार्टीविरोधी तत्वहरुका गतिविधिका पछाडि दुश्मनका एजेन्ट र सि. आइ. डी. हरुको घुसपैठले पनि प्रत्येक्ष वा अप्रत्यक्षरूपमा काम गरेको संभावनालाई एकदम अस्वीकार गर्न सकिन्न र भविष्यमा यसबारे छानबिन र अनुसन्धान गर्नु आवश्यक छ ।” ( रातो तरबार पेज नं १८७ )।

दस्तावेज अनुसार विश्लेषण गर्दा दक्षिणपन्थी र सि. आइ. डी. को आरोपको सन्दर्भमा दुई तीन कुरामा ध्यानाकषिर्त हुनु जरुरी छ । प्रथम, लामाको गलत सोचाइ र तौरतरिकाविरुद्ध दुईलाइनको संघर्ष मैत्रीपुर्ण र सामान्य प्रकारले चलिरहेको, दोश्रो, एकाध वर्षदेखि उहाँको मतभेद र अन्तरपार्टी संघर्षले गलत दिशा र रुप लिएकोले अब त्यो दक्षिणपन्थी भड्कावमा परिणत भएको र तेस्रो, त्यसका पछाडि उहाँमाथि प्रभाव बढाउदै लगिरहेका गलत तथा अवाञ्छित तत्वहरुको षड्यन्त्रमूलक भुमिकाको विशेष स्थान र महत्त्व रहेको । यी तीन फरकफरक अवस्था उल्लेख गरिएको छ । लामासँग दुईलाइनको संघर्ष मैत्रीपुर्ण र सामान्य प्रकारले चलिरहेको अवस्थामा एकाध वर्षदेखि उहाँको मतभेद र अन्तरपार्टी संघर्षले गलत दिशा र रुप लिएकोले नै लामाको सोचाइ तौरतरिका दक्षिणपन्थी भएको विश्लेषण गरिएको छ । नीतिगत आधारमा लामाको राजनीतिक लाइन दक्षिणपन्थी भएको थियो कि अन्तरपार्टी संघर्षले गलत दिशा लिएकै कारण उनको सोचाइ वा तौरतरिकामात्रै दक्षिणपन्थी भएको हो ? पहिलो प्रश्न । अर्को पक्ष, त्यसका पछाडि उहाँमाथि प्रभाव बढाउदै लगिरहेका गलत तथा अवाञ्छित तत्वहरुको षड्यन्त्रमूलक भुमिकाको विशेष स्थान र महत्त्व छ भनिएको छ । त्यस प्रकारका फुटपरस्त र पार्टीविरोधी तत्वहरुका गतिविधिका पछाडि दुश्मनका एजेन्ट र सि. आइ. डी. हरुको घुसपैठले पनि प्रत्येक्ष वा अप्रत्यक्ष रूपमा काम गरेको संभावनालाई एकदम अस्वीकार गर्न सकिन्न र भविष्यमा यसबारे छानबिन र अनुसन्धान गर्नु आवश्यक छ भनेर दस्तावेज नै बोलेको छ । यसबाट के बुझिन्छ भने लामामाथि अवाञ्छित तत्वहरु, दुश्मनका एजेन्ट र सि. आइ. डी. हरुको प्रभाव रहेको हुनसक्ने र त्यसलाई छानबिन गरेपछि नै सत्यतथ्य के हो त्यो एकिन हुने कुरा स्वयं दस्तावेज बोलेको छ । तर छानबिन नै नगरीकन तात्कालिक कैयौं प्रशिक्षण, आन्तरिक कार्यक्रम र बैठकमासमेत स्वयं लामालाई सि. आइ. डी. को आरोप लगाइने गरिएको कैयौं जानकारहरु बताउछन् । यसले निर्मल लामा स्वयं सि. आइ. डी. थिए वा सि. आइ. डी. बाट प्रयोग वा प्रभावितमात्रै भएका थिए ? यो दोश्रो प्रश्न । यी प्रश्नहरु कम्युनिस्ट आन्दोलनका नयाँ पिढिका कार्यकर्ताको मानस्पटलमा अनुत्तरित प्रश्न भएर रहेका छन् ।

तात्कालिक कार्यनीतिक सवालमा जनमत संग्रह र पंचायती चुनाव उपयोग गर्ने लामाको सोचाइ अवश्य पनि पुष्पलाल समुह र मनमोहन समुहको नीति एवं धारणामा मेल खाएको थियो । लामाले उनिहरुसँग मिलेर जनमत संग्रह उपयोगको पक्षमा पर्चा निकालेको पनि सत्य नै हो । यत्ति कुरालाई आधार बनाएर लामाको नीति वा राजनीतिक लाइन दक्षिणपन्थी भएको ठहर गर्नु न्यायसंगत थियो कि भिन्नमतमाथिको अनावश्यक लाल्छाना ? यदि यत्ति आधारमै निर्मल लामाको सोचाइ र तौरतरिका दक्षिणपन्थी करार गरिएको थियो भने आजको दिनमा आएर जनतन्त्र र जनजीविकाका मुद्दालाई पैतालामा चाँपेर प्रतिगामी खतराको नाउँमा संसदीय सत्ता उपयोगको रणनीतिक कुरुपतामा डुब्दै प्रतिक्रियावादी काँग्रेससँग चुनावी पद र सिटको लागि जोड घटाउमा फसेको मोहनविक्रमको राजनीति कसरी दक्षिणपन्थी भएन त ? प्रश्न स्वभाविक रूपमा उठ्छ ।

निर्मल लामाले लेनिनवादी संगठनात्मक पद्धति मिचेर केन्द्रिय समितिलाई एकतिहाई केन्द्रिय सदस्य थप्ने अधिकार हुन्छ भन्दै महाधिवेशन प्यानल विरुद्ध थपिएका केन्द्रिय सदस्यमध्य एकाध सदस्य कट्टर काँग्रेसपरस्त तत्व थिए भन्ने आधारमा उनलाई सि. आइ. डी. को आरोप लगाइयो भनिन्छ । तर आज आएर दलाल एवं नोकरशाही पुँजीपति वर्गको पार्टी काँग्रेसको सरकार बनाउन भोट नहालेको आरोपमा आफ्नो महाधिवेशनमा आफैले कोरेको र पारित गरेको दस्तावेजलाई लत्त्याएर महाधिवेशनको नीतिप्रति ईमानदार बनेका सांसद कृष्ण थापालाई कारबाही गर्दै काँग्रेससँगै चोचोमोचो गाँस्नु कस्तो विडम्बना हो ? इतिहासदेखि आजसम्मका यस्ता विभेदपुर्ण र उदेकलाग्दा प्रश्नहरुले गिज्याइरहेको देखिन्छ ।

०४० सालको राष्ट्रिय सम्मेलन ‘चौथो महाधिवेशनभित्र देखापरेको दक्षिणपन्थी अवसरवादको सिंहावलोकन’ शिर्षकको दस्तावेजमा भनिएको छ, “आज पार्टीमा देखा परेको स्थितिको लागि बहुमत पक्ष, मुख्यत: पार्टी नेतृत्वका कमजोरीहरु पनि केहि हदसम्म, यद्यपि गौण रूपमा जिम्मेवार छन् । यस प्रकारका कमजोरीहरु मुख्यतः यी विषयहरुसित सम्बन्धित छन्, प्रथम, पार्टीको राजनीतिक लाइन र मिलिट्यान्ट कार्यक्रमको कार्यान्वयनबारे कमजोरी, द्वितीय, विभिन्न संगठनात्मक जिम्मेवारीको पालन र पहलकदमीबारे कमजोरी, तृतीय, दक्षिणपन्थी भड्कावका विरुद्धको संघर्षमा कमजोरी, चतुर्थ, अन्तरपार्टी संघर्षलाई सहीरुपमा संचालनबारे कमजोरी ।” ( रातो तरबार पेज नं १८७ र १८८ )।

यसरी आठौं महाधिवेशनको सन्दर्भमा चलेको अन्तरपार्टी संघर्षमा झैं निर्मल लामासँगको अन्तरपार्टी संघर्षको समयमा पनि पार्टी र मुख्यतः पार्टी नेतृत्वसमेतको विभिन्न कमजोरी रहेको दस्तावेजले स्वीकार गरेको छ । तात्कालिक समयमा बहुमत पक्ष भनेको मोहनविक्रम पक्ष र अल्पमत भन्नाले निर्मल लामा पक्ष चिनिन्थ्यो । दस्तावेजमा बहुमत पक्ष, मुख्यत: पार्टी नेतृत्वका कमजोरीहरु केही हदसम्म जिम्मेवार रहेको स्वीकार गरिएको छ । उल्लेख अन्य कमजोरीमध्ये चतुर्थ कमजोरीको रूपमा उल्लेख गरिएको अन्तरपार्टी संघर्षलाई सहीरुपमा संचालनबारे कमजोरी जुन रहेको थियो, पार्टी नेतृत्व विशेषगरी मोहनविक्रममा यो कमजोरी सामान्य होइन गम्भीर समस्याको रूपमा रहेको देखिन्छ । बहुमत पक्ष, मुख्यतः पार्टी नेतृत्वले अन्तरपार्टी संघर्षलाई सहि रूपमा संचालनबारेमा निर्मल लामासँगको दुइलाइनको संघर्षको सन्दर्भमा केही हदसम्म कमजोरी गरेको थियो भनेर स्वीकार गरिएको छ तर त्यो कस्तो कमजोरी हो ? त्यसबारे दस्तावेजमा स्पष्ट पारिएको छैन । पार्टी, मुख्यतः पार्टी नेतृत्वद्वारा गरिएका त्यस प्रकारका कमजोरीहरुको कारण निर्मल लामा फुटको वातावरण बनेको देखिन्छ । तर ती कमजोरीहरुलाई दस्तावेजमा गौण भन्दै ढाकछोप गरिएको छ तर आजसम्म आइपुग्दा मोहनविक्रमद्वारा भिन्नमत राख्नेहरुले अन्तरपार्टी संघर्षको बेला अन्तरपार्टी संघर्षलाई सहि रूपमा संचालनबारेमा कस्ता कस्ता र कुन हदसम्मका गलत तरिका एवं कमजोरी भोग्दै आइरहेका छन् ? अब यो प्रश्न स्वयं स्पष्ट हुँदै गएको छ किनभने आठौं महाधिवेशनको अन्तरपार्टी संघर्ष इतिहास पढेर होइन कि स्वयं देखेर, भोगेर र अनुभवसिद्ध ज्ञान भएको छ ।

२०४० सालमा जलजलाकाण्ड लगायतको विषय उठाएर जयगोविन्द साहले मोहनविक्रम नेतृत्वमा क्रान्ति नहुने, उनले नेतृत्व छोड्नुपर्ने माग गरेका थिए । २०३१ सालको चौथो महाधिवेशन केन्द्रीय नेतृत्वमा रहेका जयगोविन्द साहले केन्द्रिय सदस्यबाट राजीनामा दिए । अन्ततः साहको राजीनामाको विवाद नै पार्टी फुटको कारण बन्यो । त्यसरी २०४० सालमा अनावश्यक रूपमा चौथो महाधिवेशनको क्रान्तिकारी एवं शक्तिशाली धारा दुई समूहमा विभाजित भयो । एउटा धारको नेतृत्व मोहनविक्रम सिंह र अर्को धारको नेतृत्व निर्मल लामाले गरे । निर्मल लामा पक्षमा जयगोविन्द साह, सूर्यनाथ यादव, नरबहादुर कर्माचार्य, दिलबहादुर श्रेष्ठ, चित्रबहादुर आले, देवेन्द्रलाल श्रेष्ठ (काइँला बा) लगायत थिए । मोहनविक्रमका पक्षमा मोहन वैद्य, रामसिंह श्रीस, चित्रबहादुर केसी, भक्तबहादुर श्रेष्ठ, सीपी गजुरेल, पुष्पकमल दाहाललगायत थिए । निर्मल लामा समूहले पार्टीको नाम नेकपा (चौम) र मोहनविक्रमले नेकपा (मसाल) राखेका थिए ।

२०४१ सालमा अयोध्यामा नेकपा (मसाल) को पाचौं महाधिवेशन सम्पन्न भयो । यो महाधिवेशनले मोहन वैद्यलाई नेतृत्वमा चयन गरेको थियो तर दस्तावेज भने मोहनविक्रम पक्षको पारित भएको थियो । मोहन वैद्य नेतृत्वले महाधिवेशनबाट पारित दस्तावेज तोडमरोड एवं थुप्रै अंश परिवर्तन गरेर प्रकाशन गरेको थियो । त्यतिमात्र होइन, वैद्य पक्षले बहुमतको आडमा मोहनविक्रम पक्षमाथि एक प्रकारले ज्यादती नै गरेको थियो । वैद्य पक्षले पार्टीमा देखापरेको अन्तरविरोधको सहि समाधान गर्नुको साटो बहुमतको आडमा भिन्नमत राखेको मोहनविक्रम पक्षलाई लेनिनवादी संगठनात्मक पद्धति र अनुशासन नाउँको यान्त्रिक प्रयोग गरेर तहसनहस बनाउने प्रयत्न गरेको थियो । तात्कालिक सन्दर्भमा वैद्य पक्षले मोहनविक्रम पक्षमाथि जुन तरिका अपनाएका थिए आज आएर आठौं महाधिवेशनको सन्दर्भमा मोहनविक्रम पक्षले सन्तबहादुर पक्षमाथि ठिक त्यही तरिका अपनाउन पुगेको छ । यसबारे अर्को शृङ्खलामा चर्चा गरिनेछ ।

तात्कालिक समयमा वैद्य पक्षले मोहनविक्रम पक्षलाई बहुमतको आडमा जुन गैर राजनीतिक एवं गैरमार्क्सवादी तौरतरिका अपनाएर सिध्याउने तरिका अपनायो, त्यसका विरुद्ध मोहनविक्रम पक्षले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको सुरक्षाको खातिर सम्झौताहिन संघर्षको विडा उठायो । मोहन वैद्य पक्षको गलत राजनीतिक कार्यदिशा र कार्यशैली सुधार गर्न अन्तरसंघर्षद्वारा संभावना नरहेकोले र बहुमतको आडमा मोहनविक्रम पक्षका अधिकांश नेताकार्यकर्ता निष्कासन गरिएकोले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन सुरक्षाको लागि २०४२ सालमा मोहनविक्रम सिंहको नेतृत्वमा (मसाल) फेरि विभाजित भयो । त्यसपछि अल्पमत पक्षको नेतृत्व मोहनविक्रम सिंहले गरे र पार्टीको नाम नेकपा (मसाल) राखे भने बहुमत पक्षको नेतृत्व मोहन वैद्य ‘किरण’ ले पार्टीको नाम नेकपा (मशाल) राखे । यसरी नेकपा ( मसाल ) केहि समयका लागि मोटो ( मशाल ) र पातलो ( मसाल ) मा विभाजन भयो ।
क्रमशः