नेकपा एकीकृत समाजवादीमा भाँडभैलो, अटेर गर्दै चार मन्त्री
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृत हुनुअघि नहट्ने’ अडान राखेपछि नयाँ मन्त्री आउने कार्य रोकिएको थियो । अहिले बजेट स्वीकृत भइसक्दासमेत सो पार्टीबाट नयाँ मन्त्री आउन सकेका छैनन् ।
एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय तीन सातादेखि अलपत्र पर्दै आएको हो ।
निर्णय गरेको १८ दिन बितिसक्दासमेत मन्त्री सिफारिस भएकाले जिम्मेवारी पाएका छैनन् । उनीहरू १८ दिनदेखि शपथको प्रतीक्षामा छन् । त्यसबेला एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शमै ‘आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने’ निर्णय गराएको बताएका थिए ।
स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेका भवानी खापुङलाई भने स्वास्थ्यमन्त्रीमा बढुवा गर्ने र अन्य नयाँ मन्त्रीको जिम्मेवारीमा जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम, मेटमणि चौधरीलाई सहरी विकासमन्त्री र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा पठाउने निर्णय त्यतिबेलै गरिएको थियो ।
पार्टीको सो निर्णय कार्यान्वयन गराउन अध्यक्ष नेपाललाई नै निकै हम्मे पर्दै गएको पार्टीका नेताले बताएका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहयोग नगर्दा नेपाल अप्ठ्यारोमा परेको र पार्टी निर्णय कार्यान्वयन गराउन नसकेको एकीकृत समाजवादी नेताको भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।