विद्यालयका प्रधानाध्यापक र विव्यास अध्यक्ष घुससहित पक्राउ

काठमाडौं, महोत्तरीबाट घुससहित एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।बिहीबार महोत्तरीको एकडारा गाउँपालिका– १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई आयोगको टोलीले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासस्थित कार्यालयको संयुक्त टोलीले दुवै जनालाई महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित मामाज किचेन होटेलबाट पक्राउ गरेको जनाइएको छ ।

विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीका लागि सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा दुवैलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।