पेट्रोलियम पदार्थको मुल्यवृद्धी बिरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । मङ्गलबार दिउँसो काठमाडौँको शान्तिबाटिकामा सिठी जुलुस निकालेर प्रदर्शन गरेको हो ।
पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धी खारेज गर, महङ्गीको नियन्त्रण गर, दलाल पुजीवादी संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावाद लगायतका नाराहरु लगाएर विरोध सभामा परिणत भएको थियो ।
उक्त विरोध सभालाई सम्भोधन गर्दैँ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले सरकारले पेट्रोलियमलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर जनतामारा काम गरेको बताएका छन् ।
उनले इन्धनको मूल्य बढेपछि सबै वस्तु तथा क्षेत्रको मूल्यवृद्धि हुने भएकाले यसबाट जनता प्रत्यक्ष मारमा परेको बताए ।
इन्धनमा लगाइएको अनावश्यक कर हटाएर मूल्य समायोजन गर्न सरकार सँग माग गर्दै राईले जनताको आवाज नसुनेर सरकारले मनपरी मूल्यवृद्धि गरिरहे आन्दोलनको आँधीबेहरी आउनसक्ने चेतावनी दिए ।
शान्तिबाटिकाबाट सुरु भएको सिठी जुलुस वसन्तपुर हुँदै घण्टाघर, जमल हुँदै पुनः शान्तिबाटिकामै पुगेर कोणसभामा परिणत भएको थियो । नेकपा बहुमतले महँगी र राष्ट्रियताको सवालमा सडक सङ्घर्षको घोषणा गरिसकेको छ ।




