सुवेदीसहित ५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस
प्रकासित मिति : २०७९ जेष्ठ ९, सोमबार १३:४७
प्रकासित समय : १३:४७
काठमाडौं, नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूचीअनुसार १ नम्बरमा सुवेदी, दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी छन् । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।
यसअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा एकल बढुवा गरिएको थियो । तर उमेरहदका कारण उनले शनिबारबाटै अवकाश पाइसकेका छन् ।

