बाँकेको जानकी गाउँपालिकामा काँग्रेस बिजयी
नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका छब्बन खाँले ६ हजार ६ सय ५३ मत र उपाध्यक्षमा नेपाली कांग्रेसकी राम प्यारी यादवले ६ हजार ९ सय ९ मत ल्याएर बिजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हिमान्शु यादवले ४ हजार ७ सय ९५ मत पाउँदा जसपाका उम्मेदवार राजिब बर्माले २९ सय ३८ मत ल्याए । साथै राप्रपा(हलो)का उम्मेदवार श्याम बहादुर थापाले ७ सय ४२ र जनमत पार्टीका बिष्णु प्रसाद यादवले ३ सय ३ मत पाएका थिए ।
त्यसैगरी उपाध्यक्षमा काँग्रेसकी रामप्यारी यादवले ६ हजार ९ सय ९ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी एमालेकी उम्मेदवार भुमिसरा धितालले ३ हजार ४ सय ५६ मत प्राप्त गरिन् । उनिहरु बिचमा ३ हजार ४ सय ५३ मताअन्तर रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार रक्षाराम कुर्मीले २ हजार २ सय २९ मत प्राप्त गरेका थिए ।
जम्मा ६ वडा रहेको जानका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सहित ४,५ र ६ वडामा जित हासिल गर्दै सबै भन्दा ठूलो दल बनेको छ । माओवादी केन्द्र र जसपाको गठबन्धनले वडाअध्यक्ष सहित १,२ र ३ वडामा जितेको छ । त्यसमा वडा न २ माओवादीले जितेको हो भने १ र २ जसपाले जितेको छ । अघिल्लो स्थानिय तहको निर्वाचनमा पालिकाअध्यक्ष, उपाध्यक्ष सहित ठुलो दलको हैसियत बनाएको एमालेले यो पटक भने नराम्ररी हार बेहोर्नु पर्यो ।
गाउँपालिका अध्यक्षमा निर्वाचित भएका खाँ २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार थिए । उनि नेकपा एमालेका राम निवाश यादव संग ७३ मतान्तरले पराजित भएका थिए ।