विप्लव समुह दक्षिणपन्थी अवसरवादमा पतन – कञ्चन

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले हजारौँ पार्टी कार्यकर्ता, पत्रकार र जनसमुदायबीच नेत्रविक्रम चन्दलाई कारबाही गरी पार्टी पुनर्गठन गरेको सार्वजनिक गरेको छ ।आज काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरको मेगा हलमा हजारौँ पार्टी कार्यकर्ता, पत्रकार र शुभचिन्तकहरूबीच नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मालगायत एउटा सानो समूहले पार्टीलाई संसद्‌वादी बनाउँदै प्रतिक्रियावादी सत्ताको चुनावमा सामेल गराएर दलाल पुँजीवादमा पतन गराउने षड्यन्त्र गरेकाले उनीहरूलाई कारबाही गरी पार्टी पुनर्गठन गरिएको बताए ।

पत्रकारहरूको प्रश्नको जबाफ दिँदै नेकपा (बहुमत) का संयोजक कञ्चनले आफूले नेतृत्व गरेको पार्टीमा विचार र सिद्धान्तको समेत बहुमत रहेको प्रस्ट पारे । कथित स्थानीय तहको चुनावपछि चन्दहरूले पश्चातापबोध गरे भने पनि उनीहरू संसद्‌वादी बनिसकेको तथ्य इतिहासमा दर्ता भइसकेको उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा नवौँ महाधिवेशन आयोजक समितिका ८१ मध्ये अधिकांश सदस्य, सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायत पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकहरू सहभागी थिए । कार्यक्रमको सञ्चालन नेकपा (बहुमत) का नेता सुदर्शनले गरेका थिए । उनले चन्द नेतृत्वको पार्टी पुनर्गठन गरेर क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्नाका कारणहरू प्रस्तुत गरेका थिए ।

नेकपा ९बहुमत० ले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तिमा संसदीय व्यवस्थाको स्थानीय चुनाव प्रयोग गर्ने प्रस्ताव तत्कालीन महासचिव विप्लवको नाङ्गिने बिन्दु भए पनि उनको वैचारिक तथा राजनीतिक विचलनका सङ्केतहरू आठौँ महाधिवेशनदेखि नै देखिन थालेको उल्लेख छ । विज्ञप्तिमा विप्लवले कणिकाहरूदेखि ब्रह्माण्डसम्म लागू हुने भौतिकवादी द्वन्द्ववादको नियम ‘विपरीतहरूको एकत्व’ लाई पार्टीभित्र लागू गर्न नचाहेको, पार्टीभित्र विकास हुने दुई लाइन सङ्घर्षलाई हटाएर अन्तरसङ्घर्ष मात्र भनेको, पार्टीभित्र आलोचना तथा आत्मालोचनाको पद्धतिलाई हटाएको, समाजवादीहरू संसद्मा पुगेर संसदीय व्यवस्थालाई निलेपछि वैज्ञानिक समाजवाद शान्तिपूर्ण तरिकाले ल्याउन सकिन्छ भनी दस्ताबेजीकरण गरेको, एकीकृत जनक्रान्तिलाई मनचिन्ते झोली बनाउँदै यसको ठोस विश्लेषण नगरेको, निजी स्वामित्व र सामूहिक स्वामित्वको आर्थिक समायोजन गर्ने समन्वयवादी नीति लिएकोलगायत सैद्धान्तिक गल्तीहरू स्पष्ट रूपमा देखिएको उल्लेख छ ।

त्यसैगरी विज्ञप्तिमा पार्टीभित्र निरन्तर चल्ने मात्रात्मक सङ्घर्ष संसदीय चुनाव उपयोगको नीतिमा आएर गुणात्मक विस्फोट भएको र यहाँ आइपुग्दा विप्लव प्रवृत्ति दार्शनिक रूपले सारसङ्ग्रहवाद, राजनीतिक रूपले संसदीय संशोधनवाद, सङ्गठनात्मक रूपले निषेधात्मक अधिभूतवाद तथा विसर्जनवाद, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावाद र आर्थिक दृष्टिले जुझारु अर्थवादका रूपमा देखापरेको उल्लेख छ । विज्ञप्तिमा उग्रवामपन्थी अवसरवादले उग्र दक्षिणपन्थी अवसरवादमा छलाङ मारको कारणले गर्दा आफूहरूका अगाडि क्रान्तिकारी सिद्धान्तमा आधारित क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नुको विकल्प नरहेपछि चन्दहरूलाई कारबाही गरी पार्टी पुनर्गठन गरिएको उल्लेख छ ।