यसकारण नेकपाबाट विप्लव निष्कासित
चितवन, नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेलाले पार्टी महासचिव विप्लवलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । आज चितवनमा सुरु भएको पार्टी केन्द्रीय समितिको विशेष राष्ट्रिय भेलाले विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी र क्रान्तिलाई धोका दिएको भन्दै पार्टीबाट निष्कासन गरेको हो ।विशेष राष्ट्रिय भेलाको अध्यक्षता गरिरहेका नेकपा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे’ ले पार्टीले सिद्धान्तबाट विचलित भएर दलाल पुँजीवादी संसद्वादमा पतन हुँदै चुनावमा गएका विप्लव सहित प्रवक्ता खडग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’लाई कारबाही गरी निष्कासन गरिएको बताए ।
भेला आयोजक समितिका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विप्लव दार्शनिक रुपले सारसङ्ग्रहवादी, राजनीतिक रुपमा संसदीय संशोधनवादी, सङ्गठनात्मक रुपमा निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी हुँदै क्रान्तिलाई विसर्जन गर्ने बाटोमा लागेपछि निष्कासनको कारबाही गर्नुपरेको बताए ।
नेकपाका संयोजक कञ्चनले दलाल संसद्वादी राज्यसत्ताले गराएको चुनाव कार्यनीतिक मात्र नभएर रणनीतिक विषय भएकाले यसको उपयोगले पुँजीवादलाई सहयोग गर्ने बताए ।