भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन्। भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमाका दिन मोदी नेपाल भ्रमणमा आउने भएका हुन ।सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ। बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन्।

हिन्दुका अनुसार एक महिनाअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय कुरा नहुने उल्लेख छ । मोदीको भ्रमणका लागि दुबै देशका अधिकारीहरूले व्यवस्था मिलाइरहेका छन्। नेपालका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुनेछन्।

भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट हालै सञ्चालनमा आउको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आउनेछन् । प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए। २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए। तर समय अभावका कारण लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम स्थगित गरिएको थियो।

भारतीय प्रधानमन्त्री मोदी अहिले युरोपको भ्रमणको क्रममा जर्मनीमा छन्।