निर्वाचन सुरक्षा रणनीतिबारे छलफल

काठमाडौँ, स्थानीय तहको निर्वाचन सुरक्षा प्रबन्धबारे केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बिहीबार केन्द्रीय सुरक्षा समिति बैठक बसेको थियो ।सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा वैशाख ३० मा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन अपनाउने रणनीतिबारे छलफल भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । ‘सुरक्षा समिति बैठकमा स्थानीय तह निर्वाचनमा अपनाउने सुरक्षा रणनीतिबारे कुराकानी भयो,’ उनले भने, ‘सुरक्षा निकायबाट बैठकमा उपस्थित हुनुभएका प्रमुख र प्रतिनिधिहरूले निर्वाचनका लागि गरिएको सुरक्षा तयारीबारे अवगत गराउनुभयो । थप सुरक्षा प्रबन्ध राम्रो कसरी बनाउने, स्वच्छ, निष्पक्ष र धाँधलीरहितरूपमा निर्वाचन सम्पन्न गर्ने भन्ने विषयमा छलफल भयो ।’

बैठकमा गृहमन्त्री खाँणले सुरक्षा निकायका प्रमुखहरूले पेस गरेका निर्वाचन सुरक्षा योजनाको प्रशंसा निष्पक्षरूपमा निर्वाचन सम्पन्न गर्नु सबैको जिम्मेवारी भएको बताएका थिए । उनले निर्वाचन सुरक्षामा कुनै कसर बाँकी नराखी काममा लाग्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।

‘निर्वाचन तयारीका सन्दर्भमा तपाईंहरूले पेस गरेका योजना उपयुक्त छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न थप प्रतिबद्ध भएर लाग्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो,’ गृहमन्त्रीले भनेका थिए, ‘अझ सशक्तरूपमा कार्ययोजना बनाएर तपाईंहरू निर्वाचन सम्पन्न गर्न लाग्नुहोला । हामीले गर्नुपर्ने व्यवस्थापन गर्नेछौं ।’

निर्वाचनमा आउन सक्ने सुरक्षा चुनौती र तिनको समाधानबारे मन्त्री र सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्ना धारणा तथा योजना राखेका थिए । बैठकमा गृहमन्त्री खाँण, गृहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरणराज शर्मा, सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल लगायतको उपस्थिति थियो ।