हिजो मलाई गाली गर्नेहरू पश्चाताप गरेर फर्कदैछन्
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी विभाजन भएरै बिग्रिएको बताउँदै माओवादी एक हुने भयो भने अरू कसैले जित्न नसक्ने बताएका हुन् । नवलपुरमा शहीद परिवारसँग कुराकानी गर्दै प्रचण्डले माओवादीहरू मिल्नुपर्ने मत देशभरबाट आउन थालेको जिकिर गरेका हुन् ।
उनले भने, वैशाख १ गते मात्र सुदूरपश्चिमका सबैजसो फेरि पार्टीमा एकताबद्ध हुनुभएका छन् । विप्लव, बाबुरामजीको पार्टीबाट सयौँ जोडिनुभएको छ । हिजो प्रचण्डलाई गाली गरेर हिँड्नेहरू गल्ती गरिएछ भन्दै पश्चात्ताप गरेर फर्किनुभएको छ ।
उनले विचारलाई राम्रो बनाउन महाधिवेशनको आयोजना गरिएको बताउँदै अब एकताको प्रक्रियालाई पनि तीव्र गतिमा अघि बढाउने जिकिर गरे । उनले भने, माओवादी एक ठाउँमा केन्द्रित हुन्छन् । आन्दोलनलाई एकजुट गरेर देशको बागडोर माओवादीको हातमा ल्याउनुपर्छ । अनि मात्र शहीद परिवारलाई सम्मान र राहत दिन सक्छौँ । अध्यक्ष प्रचण्डले आफूले लडाइँ छाडेर नभागेको बताउँदै शहीदका सपना पुरा गर्ने प्रतिबद्धता जनाए ।