लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको राजीनामा

काठमाडौं, प्रमुख प्रतिपक्षी दल एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले पत्रकार सम्मेलन गरी लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्याउन खोजेको भन्दै राजीनामा मागेको हो ।

एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि दुईवटा निर्माण कम्पनीलाई मात्र प्रतिस्पर्धा गराउने गरी प्रदेश पूर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पुर्याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले राजीनामा मागेको बताए ।

सरकारले चाहेका निर्माण कम्पनीले मात्रै टेन्डरमा सहभागी हुन पाउने गरी स्पेसिफिकेसन तयार गर्दा नै आर्थिक मिलेमतो रहेको आशंका गरिएकोमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेको राजीनामापछि उक्त मिलेमतोलाई पुष्टि गरिदिएको उनको भनाइ छ ।

यसअघिका मुख्यमन्त्री शंकर पोखरेल सरकारको पालोमा लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालको रूपमा विकास गर्ने गरी काम अघि बढाइएको चौधरीले स्मरण गरे ।