कृष्णबहादुर महराका स्वकीय सचिव मालेमा प्रवेश

काठमाडौं, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीबाट असन्तुष्ट शर्माले दुई दिन अगाडि माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए ।

काठमाडौंमा आज बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शर्मा र उनकी पत्नी सीतालाई पार्टीमा स्वागत गरे ।

शर्मा नेकपा माओवादी केन्द्रको घोराही उपमहानगर कमिटीको अध्यक्ष थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा उनकी पत्नी सीता घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार थिइन् तर पराजित भएकी थिइन् ।

प्रमोद शर्माले लामो समयसम्म कृष्ण बहादुर महराको स्वकीय सचिव भएर काम गरेका थिए । लुम्बिनी प्रदेश कमिटी सदस्यको आकांक्षी थिए । तर प्रदेश कमिटीमा नपरेपछि चर्को असन्तुष्टि व्यक्त गर्दै माओवादी केन्द्र छाडेको घोषणा गरेका थिए ।