एआइजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी
काठमाडौं, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ। वरियता मिचेर बढुवा सिफारिस गरिएको भन्दै असन्तुष्ट डीआइजीहरुले आइतबार लोकसेवा आयोगको कार्यालयमा उजुरीपत्र बुझाएका हुन्।
असन्तुष्टमध्ये एक डीआइजी ईश्वरबाबु कार्कीले लोकसेवामा उजुरी बुझाएको जानकारी दिए। ‘बरियताअनुसार बढुवा सिफारिस हुनुपर्नेमा नियम मिच्दै सिफारिस गरेकाले उजुरी दिएका हौं,’ उनले भने। गृह मन्त्रालयले गत चैत १ गते तीन जना डीआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको थियो।
वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुकलाई बढुवा सिफारीस गर्दा पन्तमात्रै वर्तमान आइजीपी शैलेश थापा क्षेत्रीका व्याची हुन्। सिंह र धानुक पछिल्लो व्याची हुन्। आफूभन्दा पछिल्लो व्याचीलाई वरियता मिचेर एआइजीमा सिफारिस भएको भन्दै कार्कीसहित डीआइजीहरु घनश्याम अर्याल र प्रकाशजंग कार्की लोकसेवा आयोगका साथै अदालत जाने तयारीमा छन्।
तीनै जना डीआइजी आइजीपीका व्याची हुन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले वरियतामा पछाडि, आचरण र कार्यसम्पादनमा कमजोर व्यक्तिहरुलाई बढुवा सिफारिस गरेपछी प्रहरी संगठनभित्र असन्तुष्टि छ।