कुशेमा जनताको सरकार नभएर गुण्डाराज चलिरहेको छ : सचिव थापा

जाजरकोट, कुशे गाउँपालिकामा जनताको सत्ता नभएर गुण्डाराज चलिरहेको नेकपा एमाले निकट युवासंघका केन्द्रिय सचिव राजन थापाले बताएका छन् । नेकपा एमालेद्धारा सोमबार आयोजना गरिएको चुनाव लक्षित कार्यकर्ता भेला कार्यक्रममा सचिव थापाले यस्तो बताएका हुन् ।

जनताको घर नजिकको गाउँ सरकार सबैको साँझा बन्न नसकेको आरोप लगाउदै युवा संघका सचिव थापाले राजनीतिक आस्था र विचारका आधारमा गाउँपालिकाले सर्भिस डेलिभेरी गर्ने गरेको भनाई राखेका थिए ।

गाउँपालिका भित्र रहेका बर्थिङ्गसेन्टरमा सुत्केरी गराउन नसकिएमा महिलाहरुले हेलिकप्टरबाट सुर्खेत, नेपालगञ्ज जानलाई आफ्नो पुरानो पार्टीलाई छोडर काँग्रेसमा प्रवेश गर्नुपर्ने, कुनै पनि विकास योजना लिनलाई र उपभोक्ता समितिमा बस्नका लागि सिङ्गै टोललाई काँग्रेस पार्टीमा प्रवेश गर्नु पर्ने, गाउँपालिकाको अनुदानमा शिक्षकको जागिर खान शिक्षण पेशामा योग्य युवाहरुले काँग्रेसमा प्रवेश गर्नु पर्ने, करार सेवामा कृषि तथा भेटनरी जेटिए, स्वास्थ्य अनमी, अहेवको जागिर राखलाई काँग्रेस पार्टीको झण्डा उचाल्नैपर्ने अबस्था कुशे गाउँपालिकामा रहेको युवा नेता थापाले बताए ।

कुशेमा जनतालाई त्रसित बनाउन हतियार बोकेर गाउँपालिकालाई नेपाली काँग्रेसको भर्तीकेन्द्र बनाएको आरोप लगाउदै युवासंघका सचिव थापाले कुशेमा नेपाली काँग्रेस पार्टी बाहेक अन्य पार्टीमा गयौं वा प्रवेश गर्यौ भने, यहाँका देवी, देवताले तिमीलाई नष्ट पारुन भनेर युवाहरुलाई मन्दीर पस्न लगाउने, देवी, देवताको घण्ट छुन लगाउने जस्ता काम भईरहेको बताए ।

गाउँपालिकाको प्रशासनिक केन्द्र नजिकै आयोजित कार्यक्रमलाई संबोधन गर्दै सचिब थापाले हतियार बोकेर गाउँ गाउँ डुल्ने, गुण्डाराज गर्ने दिन अब धेरै दिन नभएको बताए । थापाले अबको ७० दिनभित्र जे जति गर्न मन छ दिल खोलेरै गर्न गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतलाई चुनौति दिए ।