ड्युटीको विवादमा बीएसएफ जवानद्वारा ४ जना साथीको हत्या

एजेन्सी, ड्युटीलाई लिएर विवाद हुँदा पञ्जाबको अमृतसर जिल्लामा रहेको बीएसएफ (सीमा सुरक्षा बल) मुख्यालयमा आइतबार बिहान एक जवानले मेसमा अन्धाधुन्ध गोली चलाउँदा ४ जवानको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । सोही क्रममा गोली चलाउने सिपाहीले पछि आफैलाई पनि गोली हानेका थिए ।

उनको पनि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोली चलाउने जवान १४४ बटालियनका कन्स्टेबल सत्यप्पा एसकेको रहेका छन् ।

मृतक जवानको पोस्टमार्टम सिभिल अस्पताल अमृतसरमा भइरहेको छ । प्राप्त जानकारी अनुसार १४४ बटालियनका जवानहरू बीएसएफ मुख्यालयको मेसमा खाजा खाइरहेका थिए । सत्यप्पा एसके रिसमा आएर अन्धाधुन्ध गोली चलाउन थाले । मेसमा गोली चलाएर सत्यप्पाले आफ्ना ४ जना सहकर्मीको हत्या गरेका थिए भने एक युवक राहुल गम्भीर घाइते भएका थिए। सत्यप्पा यतिमा पनि रोकिएनन् । उनी आफ्नो सर्विस कम्बाइन लिएर मेसबाट बाहिर निस्किए फायर गर्न जारी राखेका थिए ।