नेपालभाषाका पहिलो नारी स्रष्टा सम्मानित
काठमाडौँ, नेपालभाषा (नेवारी)का तीनजना ज्येष्ठ नागरिक स्रष्टालाई ‘मातृभाषा सम्मान’ प्रदान गरिएको छ । सम्मानित हुनेमा पहिलो आधुनिक कवि नारायणदेवी श्रेष्ठ, पहिलो नारी कथाकार प्रकाशकुमारी प्रधानाङ्ग र संस्कृतिविद् तथा अन्वेषक काशीनाथ तमोट छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ को सन्दर्भमा मातृभाषा साहित्य प्रतिष्ठानले शनिबार सम्मान गरेको हो ।
नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठ, प्रतिष्ठानकी अध्यक्ष सुलोचना मानन्धर धिताल र नारी स्रष्टाहरूको संस्था गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठले उक्त सम्मान प्रदान गरेका हुन् । सम्मानको राशि जनही २५ हजार रुपैया रहेको छ । सम्मानित श्रष्टाका योगदान बारेमा दिव्या ताम्राकारले चर्चा गरेकी थिइन् । विसं.१९९१ म काठमाडौंको कमलाछीमा जन्मिएकी नारायणदेवीको २०१४ सालमा ‘मुखूस्वां’ (कोपिला) कविता संग्रह प्रकाशित भएको थियो । यो कृति नेपालभाषाको आधुनिक कविता कृतिका रूपमा स्थापित छ ।
त्यसैगरी पाल्पाको तानसेनमा विसं.१९९४ मा जन्मिएकी प्रधानाङ्ग नारीवादको आवाज उठाउने पहिलो कथाकार तथा नाटककार हुन् । उनका ‘मस्याङ्पा’, ‘लुफिं’, ‘प्रतिज्ञा’ र ‘अपवाद’ कथासंग्रह र ‘कलाकार’ नाटक संग्रहलगायत पुस्तक प्रकाशित छन् ।
यस्तै भोजपुरको टक्सारमा विस.२००१ सालमा जन्मिएका तमोटको नेपालभाषा, नेपाली र अंग्रेजीका दर्जनौं कृति प्रकाशित छन् । उनी साहित्य, अनुवाद, समालोचना, अन्वेषणमा विश्यात् मानिन्छन् ।
कवि दुर्गालाल श्रेष्ठले मातृभाषाबारे बुझाउनु भनेको आफ्नो जातीय पहिचानको परिचय गराउनु रहेको बताए । ‘जातीय पहिचान तब हुन्छ, जब राष्ट्रिय स्वाभिमान बच्छ,’ कवि श्रेष्ठले भने, ‘त्यसैले राष्ट्रिय स्वाभिमान बचाउन सक्नु नै नेपालको ठूलो राजनीति हो ।’ समारोहमा प्रतिष्ठानका सचिव प्राज्ञ अमर तुम्याहाङ, कोषाध्यक्ष सन्चु ब्लोनलगायतले विचार व्यक्त गरेका थिए ।