निजामती ऐन जारी गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताए ।

यस क्रममा प्रधानमन्त्री देउवाले जनतामा सहज ढंगले सेवा प्रवाहको लागि कर्मचारीहरुलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री देउवाले राजनीतिक आस्थाका आधारमा सेवा प्रवाह गर्न नहुनेतर्फ पनि कर्मचारीलाई सचेत गराएका थिए ।

जनताको सेवकको रुपमा कर्मचारीले काम गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले भने, ‘नेपालको संविधानले ट्रेड युनियनको अधिकारलाई संविधानमै व्यवस्था गरेको छ । संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी यसलाई कार्यान्वयनमा लैजान सरकार क्रियाशील रहेको छ । कर्मचारी समायोजनको सन्दर्भमा देखिएका समस्या पारस्परिक छलफलको आधारमा समाधान गरी उनीहरुलाई सन्तुष्ट बनाउने काम गरिनेछ । जनतामा सहज ढंगले सेवा उपलब्ध गराउन पनि म कर्मचारी साथीहरुलाई आग्रह गर्दछु ।’

यस्तै स्थायी सरकारको रुपमा परिचित निजामती सेवा राज्य संचालनको मेरुदण्ड भएको उनले बताए । र राष्ट्रसेवकको अनुहारमा सरकार प्रतिविम्वित हुने भएकाले राष्ट्रसेवकले प्रदान गर्ने सही व्यवहार र सेवाले सरकारको छबी उच्च हुने उनको भनाइ थियो । कर्मचारीहरूलाई आफ्नो छबी स्वच्छ राख्न पनि उनले आग्रह गरेका थिए ।