नेपालमाथि वैदेशिक हस्तक्षेप र त्यसको प्रतिरोध

नेपालको रास्ट्रियता , जनतन्त्र र जनजीविकामाथि यतिबेला गम्भीर संकट उत्पन्न भएको छ। नेपालका शासकहरुको अमेरिकाभक्ति र लेन्डुपपथका कारण नेपालमाथी अमेरिकी गिद्देदृष्टि सधैं टाउकामाथिको तरबार बन्ने गरेको छ। जसको ज्वलन्त उदाहरण हो २०६६ बाट सुरु भएको अमेरिकी रणनीति अन्तरगत को एउटा सम्झौता एमसिसी जो २०७८ फागुन १५ गते रास्ट्रवादी सांसदहरुको विरोधको वाबजुद संसदबाट अनुमोदन गरिएको छ।

अमेरिकी साम्राज्यवादले आजसम्म जतिपनी देशहरु मा सहयोगको नाममा हस्तक्षेप गरेको छ ती देशहरुको हालत सम्झन लायक छैन । नेपाल माथी पनि साम्राज्यवादी गिद्देदृष्टि लाई अमेरिका ले कहिल्यै परिवर्तन गरेन। त्यसैले देशभक्त नेपालीहरुले इतिहासका विभिन्न कालखण्डहरुमा रास्ट्रियताका लागि रगत बगाएका छन् । पछिल्लोपटक अमेरिकाले जबर्जस्त लागु गर्न खोजेको ःऋऋ को विरुद्ध काठमाडौ लगायत देशैभरी जनताले गरेको प्रतिरोध एउटा उदाहरणीय र सराहनीय काम हो। मुलुकको रास्ट्रियता कमजोर बन्दै गएको समयमा ,शासकहरु रास्ट्रियताभन्दा कुर्सी प्राप्ती र त्यसका लागि विदेशी मालिकहरुप्रति बढी इमानदार बन्दै गएपछि देशभक्तहरु हरेक क्षेत्रबाट जुर्मुराएका छन् । मुलुकलाई संकट पर्दा जुर्मुराउनु र देशको रक्षाका लागि अन्तिम समयसम्म लडिरहनु देशभक्तहरुको कर्तव्य हो। रास्ट्रघाती सम्झौता mcc को विरुद्ध ,रास्ट्रियताको रक्षाका लागि लड्नेलाइ सलाम गर्नैपर्छ ।

हिजो रास्ट्रघात र जनघात गर्नेहरु नै आज मुलुकमा शासनसत्ताको बागडोर समालिरहेका छन् । क्रान्तिकारीहरुको टाउकाको मोल तोक्नेहरुले आज फेरि हिजोका जनयुद्धका नायकहरुलाई सत्ताको कुर्सीमा नियुक्त गर्नुपर्ने लज्जास्पद अवस्था उत्पन्न भएको छ, त्यो पनि भारतीय र अमेरिकी इशारामा । हिजोको वर्ग दुश्मनको प्रमुख नाइकेको कुर्सी अढ्याएर रास्ट्रघातको सति गएका छन् जनयुद्धका नायक भनिने कमरेडहरु ।त्यसैले यतिबेला नेपालको रास्ट्रियता अत्यन्तै कमजोर बनेको छ।

विदेशीहरुको नेपालमाथिको स्वार्थ र दबाब बढ्दै गएको छ। शासकहरु कमजोर बन्दै गएकाले विदेशीहरु आफ्नो स्वार्थ लाद्न तछाडमछाड गरिरहेका छन् । त्यो स्वार्थ दीर्घकालीन महत्त्व राख्ने सन्धिसम्झौतादेखी तत्कालीन महत्वका सरकार परिवर्तन र सचिवरराजदूत नियुक्तिसम्म देखिएको छ। जसको ज्वलन्त उदाहरण हो हिजो नै अमेरिका को लागि नियुक्त भएका राजदूत श्रीधर खत्री । शासकहरुको कुर्सीको लुछाचुडी र परनिर्भरताले विदेशी हस्तक्षेप खतरनाक शैलीले बढिरहेको छ। यो सबै चालबाजी हेर्दा र सम्झिदा रगत उम्लिएर आउँछ तर पनि समालिनुको कुनै विकल्प छैन ।

अहिले नेपाल रास्ट्र र रास्ट्रियतामाथि चौतर्फी हमला भएको अवस्था छ। प्रथमतः नेपालको वर्तमान राजनीतिक सत्ता वा राज्यसत्ता नै विदेशीको इशारा ,प्रभाव ,दबाब र सहयोगबिना राज्य संचालन गर्नैनसक्ने अवस्थामा पुगेको छ। जसको ज्वलन्त उदाहरण हो हिजो मात्रै  mcc अनुमोदन गर्ने क्रममा सत्तासाझेदारको मुख्य घटक नेपाली कांग्रेस का प्रभावशाली मानिने महामन्त्री गगन थापाले टेबल ठोकेर बोले अमेरिका संग ६० अर्व माग्यौ अब भारत संग ७० अर्व मागौ ,चीन संग ८० अर्व मागौ भनेर देशको स्वाधीनतालाई चटक्कै बिर्सेर मागेर देश चलाउ भन्नू कतिसम्म लज्जास्पद र गैरजिम्मेवार कुरा हो प्रष्ट छ।

अहिले नेपालको अर्थतन्त्र ,विकास र निर्माणको क्षेत्र पनि विदेशी रास्ट्र ,विश्व बैंक अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियायी विकास बैंकजस्ता साम्राज्यवादी बित्तीय संस्थाहरुका कारण नेपालको सम्पुर्ण आन्तरिक नीतिनिर्माण प्रक्रिया विदेशीको हातमा पुगेको छ। नेपालमा निर्माण हुने वा लगानी हुने सबैजसो ठुला संरचनागत आयोजनाहरुमार्फत सार्वजनिक निजि साझेदारीका नाममा नेपालका सबै प्राकृतिक स्रोत र साधनहरु विदेशीलाई सुम्पने र नेपालको रास्ट्रिय ढुकुटीलाई समेत विदेशी स्वार्थका निमित्त खर्चिने कार्य भैरहेको छ।नेपाली पुजीको प्रयोग र विकास हुन नदिने अनि नेपाली श्रम ,सीप र बजारको समेत उपयोग नगर्ने गरि अघि सारिएका कुनै पनि विकासे आयोजनाहरुबाट नेपालको अहितमात्र हुने गरेको इतिहास साक्षी छ।यसबाट प्रष्ट हुन्छ कि वर्तमान पराधिन सत्ताले रास्ट्रको हित गर्न सक्दैन ।

जबसम्म राज्यसत्ता जनताको हातमा हुँदैन ,तबसम्म विदेशीको स्वार्थ र दबाबमा चल्ने अवस्थाको अन्त्य हुँदैन ,जबसम्म देशले पुर्ण रुपले स्वाधीनता प्राप्त गर्न सक्दैन तबसम्म अहिलेको समाजमा देखापरेका तमाम अन्तरविरोधहरुको समाधान सम्भव छैन ।रास्ट्रले भोग्नुपरेको पराधिनताको पिडासहित देशको समस्त ग्रामीण क्षेत्र तराई ,पहाड र हिमालका जिल्लाहरुमा गरिब एवम् उत्पीडित समुदायको आर्थिक ,राजनीतिकलगायत समस्या कति गम्भीर छन् भन्ने मागहरु देशव्यापी रूपमा जसरी उठेका छन् तिनको समाधान वर्तमान राज्यसत्ता र यसको प्रवृत्तिबाट असम्भव छ। वर्तमान अर्धसामन्ती र नवऔपनिवेशिक राज्यसत्ताको अन्त्य गरि जनताको जनवादी सत्ताको स्थापनाबिना न विदेशी प्रभुत्व तथा अमेरिकी साम्राज्यवादबाट स्वाधीनता प्राप्त गर्न सकिन्छ न त जनताका आन्तरिक समस्याहरुको समाधान गर्न ।अझ कुन तथ्य स्पष्ट हुन आवश्यक छ भने रास्ट्रिय स्वाधीनताबिना जातीय ,क्षेत्रीय ,लैङ्िगक तथा वर्गीय विभेदबाट पैदा भएका आन्तरिक समस्याहरुको समाधान हुन असम्भव छ।

आर्थिक हिसाबले देशमा दलाल पुजीवाद हाबी भएको छ। पुरानो परम्परागत सामन्ती उत्पादन सम्बन्धका आधारमा उत्पादनपद्धति कतै पनि रहेको पाइदैन । अहिले नेपालमा पनि त्यसप्रकारको सामन्तवाद विद्यमान छैन । तर तेस्रो विश्वका मुलुकहरुमा साम्राज्यवादले दलाल पुजीवादको ओतमा सामन्तवादी राजनीतिक, सामाजिक र सास्कृतिक प्रणाली संरक्षित गरेको छ। यसले गर्दा हिजोको सामन्तवाद अहिले सामन्तवादी संस्कार ,संस्कृती र प्रवृत्तिसहित दलाल पुजीवादमा हावी भएको छ। यसको चरित्र राजनीतिमा अराजकतावादी र कानुनी रूपमा निरंकुशतावादी हुने गर्छ। तसर्थ यसलाई अराजक एवम् क्रूर निरंकुशतावादी ब्यवस्था भन्न सकिन्छ।

गाउँ र सहरको दुरि कम हुनुका साथै देशको सहरीकरण ,विदेशी पुजिको प्रयोग र विनिमय ,विदेशी उद्योगहरुमा काम गर्नुपर्ने नेपाली जनताको बाध्यता र रास्ट्रिय पुजिको समाप्तिका कारण देशमा आधारबिनाको अथवा रास्ट्रिय पुजिबिनाको मध्यमवर्गको विकास भएको छ। देशकै सन्दर्भमा आधुनिक प्रकारको उपभोग्य वस्तु र पुरातन प्रकृतिका उत्पादनका साधनहरुको अन्तरविरोधले देशका कृषि तथा घरेलु उद्योगहरु समाप्त भएका छन । यसको कारण देशको उत्पादक शक्ति विदेश पलायन हुन बाध्य भएको छ।

भूराजनीतिक हिसाबले नेपाल एउटा खास प्रकारको अन्तर्राष्ट्रिय रणनीतिक महत्वको स्थानमा अवस्थित छ। अहिलेको विश्वलाई जतिसुकै एकल ध्रुविय बनाउन खोजे पनि यो बहुध्रुविय बन्दै गएको छ। अमेरिकी साम्राज्यवादको युद्ध अर्थतन्त्रले संसारको अर्थतन्त्रलाई एकत्रित मात्र गरेको छैन ,यसले संसारभरि साम्राज्यवादविरोधी शक्तिलाई पनि बलियो बनाइरहेको छ। विनाशकारी हतियारहरुको उत्पादन ,परिक्षण र भण्डारणलाई जताततै प्रोत्साहित गरेको छ। अमेरिकी हातहतियार उत्पादन प्रक्रिया साम्राज्यवादी मुलुकहरु फ्रान्स ,बेलायत ,जर्मनी तथा जापानमा मात्रै सिमित छैन । यो प्रबिधि विश्वका अन्य मुलुकहरुमा समेत विकसित भैसकेको छ। यसले गर्दा साम्राज्यवादी शक्तिहरु बिच पनि ध्रुवीकरण बढिरहेको छ। अहिले नेपालमा एमसिसी प्रकरणले रास्ट्रलाई दुई ध्रुवमा ध्रुविकृत गरेको छ।

नेपालमाथि वैदेशिक हस्तक्षेप र त्यसको प्रतिरोधको शृङ्खला नयाँ होईन । नेपाल निर्माण ,विस्तारको प्रक्रियामा इतिहासदेखि नै यो क्रम जारी छ। अंग्रेज़ साम्राज्यवादका विरुद्ध नेपालका जनताले गरेको संघर्ष धेरै लामो र रक्तरन्जित छ। नेपालको निर्माणमा हजारौं( लाखौं जनताको रगतपसिना बगेको छ। त्यसैले नेपाल रास्ट्रियता र स्वाधीनताको रक्षाको निमित्त देशभक्तहरु एक हुनुपर्ने बेला आएको छ।

(लेखक किशोर सुवेदी समसामयिक विषयमा निरन्तर कलम चलाइराख्ने कर्णाली प्रदेशका एक बौद्धिक युवा हुन।)