ठगी आरोपमा ट्रिपल स्टार म्यानपावरका सञ्चालक पक्राउ

काठमाडौँ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित मार्सल टोलीले ठगी गरेको अभियोगमा ट्रिपल स्टार इप्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरुङलाई बिहीबार पक्राउ गरेको छ ।संयुक्त अरब इमिरेट्स (यूएई)को ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी दिलाइदिने भन्दै भिजिट भिसामा पठाएर ठगी गरेको भन्दै उनलाई टोलीले पक्राउ गरेको हो । गुरुङलाई थप छानबिनको लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा राखिएको छ ।

आफूहरुलाई सशस्त्र सुरक्षा गार्डको लागि तीन महिनाअघि ७ लाख ५० हजार रुपैयाँ लिई भिजिट भिसामार्फत पठाएको पीडितले दाबी गरेका छन् । जसमा राजीव सुनुवार, ज्ञानेन्द्र रानाभाट, सुनील पन्थ, रमेशजंग राना, चन्द्रबहादुर बिक, अर्जुन तामाङ, रोशनराज पाण्डे, प्रताप तामाङ, चिरायु सरदार, भुकबहादुर लामा, शिवराज पन्त र सन्तोष चपागाई रहेका छन् ।

म्यानपावरले संस्थागत ढंगले नभई दलालहरुले पठाएको दाबी गर्दै आएको छ । मंगलबार पीडितसहित ट्रिपल स्टार म्यानपावर पुगेका युटुवरहरुमाथि आक्रमण भएको थियो । जसमा तीन जना युटुवर घाइते भएका थिए ।