ज्ञानेन्द्रसँग प्रचण्डको पाँच बुँदे सम्झौता भएकै हो : ओली

मोरङ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धलाई विश्राम दिने विकल्प खोज्ने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहसँग ५ बुँदे सम्झौता गरेको फेरि दोहोर्‍याएका छन् ।

आज (शनिबार) विराटनगरमा पत्रकारसँगको कुराकानी गर्दै अध्यक्ष ओलीले राजासँग वार्तामा बसेका प्रचण्ड निकट व्यक्तिहरूले नै यो कुराको खुलासा गरेको बताएका छन् । त्यहीकारण आफूले यसमा थप बोलिरहनु आवश्यक नभएको उनले बताए । ‘उहाँ (प्रचण्ड) कै मान्छेहरूले बोल्दै हिंडिरहेका छन्,’ ओलीले भने, ‘वार्तामा बसेकाले नै भनेपछि विस्तारै लिखित प्रमाण पनि निस्केला ।’

प्रचण्डले २०६० मंसिर १८ गते राजा ज्ञानेन्द्रसँग पाँच बुँदे सम्झौता गरेको आरोप ओलीले यसअघि लगाएका थिए ।

ओलीको उक्त आरोपपछि प्रचण्डले सम्झौता भएको भए प्रमाणित गर्न सार्वजनिक चुनौती दिएका थिए । ‘प्रचण्डजीले चुनौती नै दिने हो भने उहाँहरूलाई दिनुपर्छ, जसले सम्झौताबारे बोलिरहेका छन्,’ ओलीले भने ‘मलाई चुनौती दिनुको कुनै अर्थ छैन ।’

ओलीले ‘प्रचण्ड निकट व्यक्ति’ भनेर कसैको नाम लिएनन् । यो सम्झौता बारेमा माओवादी पूर्व नेतृ हिसिला यमीको पुस्तकमा पनि उल्लेख छ । त्यस्तै विश्वका ठूला राजनीतिक घटनाक्रममा दस्तावेजको खुलासा गरेको विकिलिक्सले पनि यो सम्झौताबारे चर्चा गरेको छ ।