प्रतिगमनकारीहरू षड्यन्त्रकै प्रक्रियामा छन्, रिल्याक्स गर्नुहुने स्थिति छैन : प्रचण्ड
काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरू अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेका बताएका छन्।
शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) सम्पर्क केन्द्रबीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरू राजनीतिक परिवर्तनहरूलाई उल्ट्याउने षड्यन्त्रमा लागेको टिप्पणी गरे।
कम्युनिस्ट पार्टीहरूबीच एकता भए मात्रै प्रतिक्रान्तिलाई रोक्न सकिने भन्दै उनले राजनीतिक परिवर्तनहरूलाई जोगाउन क्रान्तिका पक्षधर शक्तिहरू एकजुट भएर अगाडी बढ्नुपर्ने औँल्याए।
‘अहिले पनि हामी ढुक्क हुने स्थिति छैन । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी र षड्यन्त्रकारीहरू अहिले पनि प्रतिक्रिया र षड्यन्त्रकै प्रक्रियामा छन्। त्यसकारण हामी राष्ट्रका, जनताका पक्षधर, क्रान्तिका पक्षधर, सबै शक्तिहरू एकजुट भएर त्यसको प्रतिवाद गर्ने कुरामा कहीँ, कतै हामीले रिल्याक्स गर्नुहुने स्थिति छैन । हामीले पूरै मिहिनेतका साथ अगाडि जानु छ । त्यसको निम्ति कम्युनिस्टहरूबीचको एकता सबभन्दा ठूलो कुरा हो ।
इमानदार कम्युनिस्ट क्रान्तिकारीहरूबीचको बलियो एकताले नै प्रतिक्रान्तिविरोधी, क्रान्तिकारी आन्दोलनको नेतृत्वको भूमिका खेल्न सक्दछ । त्यसको नेतृत्वअन्तर्गत सबै देशभक्त, वामपन्थी, प्रगतिशील, सबै जनवादी शक्तिहरुलाई हामीले गोलबन्द गर्न सक्नुपर्दछ र मात्रै प्रतिक्रान्तिको आँधि या हुरीलाई रोक्न सकिन्छ । र क्रान्तिको एउटा नयाँ लहर सृष्टि गर्न सकिन्छ,’ अध्यक्ष प्रचण्डले भने।