एमसीसीले गर्यो नेपालको जवाफ कुर्ने निर्णय

काठमाडौँ, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयको बोर्ड बैठकले एमसीसी र नेपालबीच भएको ५०० मिलियन अमेरिकी डलर (करिब ५५ अर्ब) अनुदानसम्बन्धी सम्झौतालाई लिएर नेपालको जवाफ अझै कुर्ने निर्णय गरेको छ ।नेपाली समयअनुसार मंगलबार राति एमसीसीको बोर्ड बैठक बसेको थियो । ‘बैठकका बारेमा थप जानकारी नेपाली समयअनुसार बुधबार राति सार्वजनिक गर्ने कार्यक्रम छ,’ नेपालस्थित अमेरिकी दूतावास स्रोतले भन्यो ।

संघीय संसद्को चालु दसौं अधिवेशनमै एमसीसीलाई अघि बढाउन गृहकार्य भइरहेको छ । केही दिनमा सरकारले सर्वदलीय बैठक बोलाएर एमसीसीको विषयमा छलफल गर्न लागेको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सुरु हिउँदे अधिवेशनको पहिलो दिन नै सम्झौता टेबुल गर्न चाहेका थिए । तर, गठबन्धन दलले बृहत् छलफल आवश्यक रहेको बताएपछि रोकिएको स्रोतको भनाइ छ ।

नेपाल भ्रमणको दौरान गत महिना अमेरिकी सहायकविदेशमन्त्री डोनाल्ड लुले बोर्ड बैठकमा सम्झौताबारे छलफल हुने र त्यसअघि नेपालले यस विषयमा निर्णय गरिदिए राम्रो हुने उल्लेख गरेका थिए । उनले सम्झौता नेपालको हितमा रहेको बताउँदै संसद्मा छलफल गर्नु उचित हुने सुझावसमेत दिएका थिए । तर संसद् नै ढिलो गरी आह्वान भएपछि एमसीसी मुख्यालयले फेरि एक पटक नेपालको निर्णय कुर्न लागेको हो । एमसीसी उपाध्यक्ष फातिमा सुमारले सम्झौता कार्यान्वयनमा जानेमा आशावादी रहेको नेपाल भ्रमणका क्रममा बताएकी थिइन् । अनुदान लिने वा नलिने नेपालले नै निर्णय गर्न सक्ने उनको भनाइ थियो । सन् २०१७ मा नेपाल र एमसीसीबीच सम्झौतामा हस्ताक्षर भएको थियो । कान्तिपुर