पदाधिकारी टुङ्गो लगाउन बुढानिलकण्ठमा देउवा पक्षको बैठक जारी
काठमाडौं, प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको टुङ्गो लगाउन आफू पक्षीय नेताहरुसँग छलफल जारी राखेका छन् । बैठक देउवा निवास बुढानिलकण्ठमा जारी छ । छलफलमा देउवा पक्षीय नेताहरुको सहभागी छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधि भने बुढानिलकण्ठ गएका छैनन ।
देउवा समूहमा अहिलेसम्म सभापतिमा कसैले आकांक्षा नदेखाए पनि पदाधिकारीमा भने आकांक्षीको व्यवस्थापन गर्न हम्मे परेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
महामन्त्रीमा भने देउवा समूहमा आकांक्षी धेरै छन् । गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा, एनपी साउद र रमेश लेखक आकांक्षी छन् । संस्थापन र संस्थापन इतरपक्षले अझैं उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । दुवै पक्ष उम्मेदबारको टुंगो लगाउन आन्तरिक छलफलमा जुटेपनि साझा उम्मेदवार बनाउन सकेका छैनन् ।
यसैबीच बिहीबार पौडेल समूहका नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन् । पौडेल पक्षबाट सभापतिमा पौडेल, शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहले आकांक्षा देखाएका छन् । शशांकले भ भने मंगलबारको छलफलपछि पौडेललाई सघाउने भन्दै पछि हटेका छन् ।
आजको बैठकले सभापतिको उम्मेदवारको टुंगो लगाउने जनाएको छ । बैठकमा पौडेल पक्षका केन्द्रीय सदस्य, नवनिर्वाचित जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति र प्रदेश सभापति बोलाइएको छ ।
सो पक्षका नेताहरूबीच दर्जन बढी बैठक भइसकेका छन् । तर पनि आकांक्षीहरु बढि देखिएकाले उम्मेदवारको टुंगो लगाउन सकस परेको हो । प्रदेश अधिवेशनको परिणामले पनि इतरपक्षमा साझा उम्मेदवार तय गर्न समस्या भएको छ । ६ प्रदेशमा भएको चुनावमा इतरपक्षले लुम्बिनी र गण्डकी प्रदेशमा मात्र जितेको छ ।