हतियारको बलमा राज्यले दमन गर्छ भने प्रतिरोध गर्न तयार छौँ : विप्लव

बिराटनगर, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले आफ्नो पार्टीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । नेकपाद्वारा प्रदेश–१ को राजधानी बिराटनगरमा शनिबार आयोजना गरिएको वृहत् जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सहमति अनुसार जेलमा रहेका आफ्ना नेता कार्यकर्ता रिहा गर्न सरकारलाई आग्रह गरेका हुन् ।

file photo

महासचिव विप्लवले एकीकृत जनक्रान्तिमा पुर्वको ठूलो योगदान रहेको उल्लेख गर्दै पुर्वमा क्रान्तिको ज्वाला निस्किने उद्घोष गरे । उनले बिराटनगरबाट भएको मजदुर आन्दोलन र झापाबाट शुरू भएको सामन्तका टाउको काट्ने अभियान स्मरण गर्दै आज तिनै व्यक्ति र तिनका पार्टी सामन्ती बन्न पुगेकाले देश र जनताले दुःख पाएको बताए । एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद असम्भव भन्दै हिँड्ने केपी, प्रचण्ड, बाबुराम, शेरबहादुरहरू नै अहिले यो व्यवस्थाबाट आजित भइसकेको बताउँदै महासचिव विप्लवले राणासाशणको अन्त्य, झापा आन्दोलन, पञ्चायती व्यवस्था बिरूद्वको आन्दोलन, सामन्तवाद विरूद्वको दशबर्से जनयुद्ध परिवर्तन चाहने जनताबाट भएकोले जनताले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याएरै छाड्ने र अहिलेको परिस्थितिमा यो मात्रै विकल्प रहेको बताए ।

झन्डै १ घन्टा लामो भाषण गरेका विप्लवले अहिलेको राज्यसत्ता चरम रूपमा भ्रष्टाचारमा लिप्त रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले कुनैपनि भ्रष्टाचार, बेथिति, विसङ्गति, अत्याचार अन्याय नसहने उद्घोष गरे । उनले राज्यलाई अरबौँ राजस्व नबुझाउने एनसेल कम्पनीलाई राज्य आफैँले कारवाही गर्नुपर्ने ठाउँमा नेकपाको नेतृत्वमा जनताले एनसेललाई कारवाही गर्दा नेकपामाथि प्रतिबन्ध लगाएको उल्लेख गर्दै पुर्वमा मुठभेडका नाममा राज्यले पार्टीका कार्यकर्ता हत्या गरेको बताए । राज्यले प्रतिबन्ध लगाउँदै नेकपालाई सिध्याउने अभिव्यक्ति दिने केपी प्रचण्डहरू नै पतनको बाटोमा पुगेको उल्लेख गर्दै क्रान्ति आगोका झिल्को रहेको र परिवर्तन चाहने जनताले त्यसलाई ज्वालामा परिणत गरेको बताए । गत फागुन २१ गते राज्यले ३ बुँदे सहमति गरेर प्रतिबन्ध फुकुवा गरेपनि सहमति अनुरूप काम नगरेको भन्दै विप्लवले राज्यले बन्दुकको बलमा दमन गर्न खोजे त्यसको सशक्त प्रतिरोध गर्न तयार रहेको बताए ।

अहिले पनि देशका विभिन्न कारागारमा नेताकार्यकर्ता बन्दी बनाएको भन्दै आक्रोशित बनेका विप्लवले राज्यले नेपाल प्रहरी र सेनालाई दुरुपयोग गरेको उल्लेख गरे । नेपालमा अबको एकमात्र विकल्प वैज्ञानिक समाजवाद रहेको भन्दै उनले यो लडाइँ कसैको स्वार्थका लागि नभएको र देश र जनताको लागि सबै जातजाति, भाषाभाषीका आम जनसमुदाय एक भएर सङ्घर्ष गर्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टीले कुनै पनि स्वार्थमा जनताको एजेन्डामाथि घात गरेर सम्झौता नगर्ने बरू बलिदान गर्न तयार रहेको उल्लेख गर्दै दलाल संसदीय व्यवस्थाका विरूद्व अन्तिमसम्म सङ्घर्ष गर्ने विप्लवले उद्घोष गरेका छन ।