ह्वातै बढ्यो चिसो, बर्षा र हिमपातको सम्भावना

काठमाडौं, देशभर ह्वातै चिसो बढेको छ । आज (सोमबार) देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति कर्णाली प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा प्रदेश–१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । वर्षा र हिमपातसँगै देशभर चिसो बढ्ने क्रममा रहेको छ ।

जसका कारण पर्वतारोहण, हवाई-यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । तराईका धेरै भागमा बिहानको समयमा हुस्सु र कुहिरोसमेत लाग्न थालेका सवारी चलाउँदा ध्यान दिन पनि विभागले नियमित बुलेटिन प्रकाशन गर्दै आग्रह गर्दै आएको छ ।