एमाले महाधिवेशन : देउवासहित अन्य दलका शीर्ष नेताहरु सहभागी हुने, प्रचण्ड र विप्लव नजाने
काठमाडौं, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् ।
एमाले प्रचार प्रसार विभागका प्रमुख विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा आउने निश्चित भएको बताएका छन् । उनका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहभागी हुनेछन् ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्ता दिइए पनि आउने नआउने निश्चित भइनसकेको बताए । तर प्रचण्ड महाधिवेशनमा सहभागी नहुने बताइएको छ । यस्तै नेकपाका महासचिब नेत्रविक्रम चन्द ‘विप्लव’ पनि एमाले महाधिवेशनमा नजाने भएका छन् ।
उनका अनुसार भोलि (शुक्रबार) हुने उद्घाटन सत्रका लागि चितवनको विभिन्न ७ वटा स्थानबाट विशाल जुलुस प्रदर्शन गरिनेछ । उद्घाटन सत्रमा ५ लाख मानिसहरु ल्याउने दाबी गरेको एमालेले सहभागीहरुका लागि डिजिटल स्क्रिनहरुको व्यवस्था गरेको जनाएको छ ।