विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको छु : सभामुख

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले न्यायपालिकामा विकसित घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको बताएका छन् ।

आज (सोमबार) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको वहिर्गमनमा सहयोग गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएको नेपाल बार एशोसिएसनको टोलीसँग उनले अहिले न्यायालयमा जे बहस भइरहेको छ त्यसलाई आफूले निकै नजिकबाट अध्ययन गर्ने कोशिस गरिरहेको बताए ।

यसमा सहज र स्वभाविक निकास निकाल्नु पर्ने उनले बताएका छन् । ‘तपाईहरुले जुन विषयमा ध्यानाकर्षण गराइराख्नु भएको छ । यो गम्भिर, असाधारण र छिटो भन्दा छिटो निकास निकाल्नु पर्ने विषय हो । समस्या किन गहिरिएको छ भन्ने विषयमा चिन्ता भन्दा पनि चिन्तनतिर आफूलाई केन्द्रित गरेको छु,‘ सापकोटाले भने । नेपाल बारले प्रधानन्यायाधीश जबरालाई किन पदमुक्त गर्नुपर्छ भन्ने कारणसहित सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनु पर्ने बारले देखायो १८ आधार

नेपाल बार एशोसिएशनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउने १८ आधारसहित बारले सभामुखलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन मिल्ने १८ आधार उल्लेख छ ।