चिनियाँ कम्युनिष्ट पार्टीसँगको बैठकमा विप्लवले सोधे यस्तो प्रश्न

काठमाडौं, चिनियाँ कम्युनिष्ट पार्टीले १९ औं केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरूलाई आज (सोमबार) भर्चुअल माध्यमबाट ब्रिफिङ गरेको छ । कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टीहरूलगायत भारत, बंगलादेश र श्रीलंकाका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको सहभागिता थियो ।

file photo

आजको बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि पहिलोपल्ट आमन्त्रण गरिएको थियो । महासचिव विप्लवले चिनियाँ कम्युनिष्ट पार्टीलाई १०० सय वर्ष पूरा गरेकोमा साथै छैटौं विस्तारित बैठकले लिएका ऐतिहासिक निर्णयका लागि बधाई दिएका थिए । कार्यक्रममा विप्लव आफ्ना पार्टीका शीर्ष नेतासहित उपस्थित थिए ।

‘आज दुई विश्व दृष्टिकोण र दुई व्यवस्था छन् । एउटा समाजवादी र अर्को पुँजीवादी । विश्वमा शान्ति, स्थिरता र समृद्धिको नेतृत्व समाजवादी खेमाले गर्दै आएको छ र गर्नु परेको छ भने भूमण्डलीकृत पुँजीवादले अस्थिरता, अराजकता, पर्यावरणीय प्रदुषण र अतिक्रमणको नेतृत्व गरिरहेको छ,’ उनले भने ।

झण्डै तीन मिनेट धारणा राखेका विप्लवले कम्युनिष्ट पार्टीहरुले विश्व समाजवादका लागि अझै राम्रो योगदान गर्नु पर्ने खाँचो औंल्याएका थिए । ‘चिनियाँ कम्युनिष्ट पार्टीले नयाँ व्यवस्थाको जुन दृष्टिकोण राखेको छ, त्यो हामीलाई ठिक लागेको छ । हामी नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेका छौं,’ उनले भने ।

नेपाली जनता समाजवादको पक्षमा रहे पनि समाजवाद स्थापना गर्ने बाटोमा थुप्रै चुनौतीहरू रहेको उनले बताए । ‘समाजवादलाई रोक्नका लागि देशी तथा विदेशी पुँजीवादी प्रवृत्तिले अनेक हस्तक्षेप गरिरहेको छ । हामी नेपालमा परिवर्तन, शान्ति, स्वाधीनता, मित्रता र समृद्धि चाहन्छौं । यसमा सबैको सहयोग रहोस भन्ने हामी चाहन्छौं,’ उनले संक्षिप्त मन्तव्यमा भने ।

चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गर्दै उनले आफूहरु पनि नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेको जिकिर गर्दै यसका लागि आन्तरिक र वाह्य धेरै चुनौतिहरु रहेको पनि बताए । अन्त्यमा उनले चिनियाँ नेतालाई कम्युनिष्ट आन्दोलन र समाजवादका विषयमा धारणा माग्दै प्रश्न राखेका थिए ।

यसअघि, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पनि चिनियाँ नेताहरुलाई विस्तारित बैठकको सफलताको शुभकामना दिएका थिए । उनले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले हासिल गरेको सफलताबाट दक्षिण एसिया मात्र नभए विश्वकै कम्युनिष्ट पार्टीहरू प्रभावित बनेको पनि बताए ।

अध्यक्ष नेपालले सो कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेपालमा कम्युनिष्टहरु सत्तामा पुगेपछि अहंकारी बन्ने गरेको र यसले ठूलो संकट निम्त्याउने गरेको बताएका थिए । यो समस्या नेपाल मात्र नभएर विश्वभरका कम्युनिष्ट पार्टी देखिने गरेको उनको भनाइ थियो । आजको कार्यक्रममा नेकपा (एमाले) पनि सहभागी हुने बताइए पनि पार्टीका तर्फबाट कोही सहभागी भएनन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ कम्युनिष्ट पार्टीले अंगिकार गरेको सिद्धान्तलाई समीक्षा गर्दै पार्टीको नयाँ यात्रा तय गर्न, चीन र विश्वकै विकासको नयाँ युगको शुरुवात गर्न र विश्वका सबै राष्ट्रहरूबीच ‘विन–विन’ को अवस्थामा विश्वका राष्ट्रबीच सहकार्य गरेर साझा भविष्यसहितको समुदाय निर्माण गर्नका लागि छैटौं विस्तारित बैठकको विशेष महत्व रहेको बताए ।

उनले नेपाल सधैं ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको र तिब्बत, ताइवानलगायतका विषयहरु चीनको आन्तरिक मामिला रहेको भन्ने नेपालको धारणा रहेकोमा पनि जोड दिएका थिए । कार्यक्रममा भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का सीताराम यचुरी, बंगलादेशको कम्युनिष्ट पार्टीका नेता दिलिप बरुवालगायतले चिनियाँ कम्युनिष्ट पार्टीलाई शुभकामना दिएका थिए ।