बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं, बैतडी जिल्ला सदरमुकाम गोठलापानीस्थित कलुवाडमोडमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरूलाई जिल्ला अस्पताल पुर्याइएको छ ।बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द
नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।
आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राति भिरमा जिप अड्किएकाले घटनाको यकिन विवरण अझै आउन सकेको छैन ।
कलुवाड मोडको माथिको सडकबाट खसेको जिप तल्लो सडकसमेत पार गरेर सल्लाको रुखमा अड्किएको थियो । जिपमा ७ जना सवार रहेको प्रारम्भिक जानकारी आए पनि अझै यकिन हुन सकेको छैन । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ ।