अमेरिकी सहायक विदेशमन्त्री आज प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं, तीन दिने भ्रमणका लागि बुधबार साँझ नेपाल आइपुगेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज (बिहीबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।

दिउँसो बालुवाटारमा लुले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै लुले भोलि (शुक्रबार) परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ । अमेरिकी सहयोगमा नेपालमा सञ्चालित परियोजनाको अवलोकन गर्ने उद्देश्यले लु नेपाल भ्रमणमा आएका हुन् ।

अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गरेर सहायक विदेशमन्त्री लुले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको समेत अवलोकन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

आजै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनले पनि सरकारी अधिकारी र उदीयमान नागरिक समाजका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औं वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो । ‘कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति वाइडेनका उच्च प्राथमिकताका विषयलाई उहाँहरूले सम्बोधन गर्नु हुनेछ’, दूतावासको विज्ञप्तिमा भनिएको छ ।