भारतसँगको विवादित सीमामा चीनले बढायो सैनिकको सुविधा

एजेन्सी, चीनको पिपुल्स लिबरेशन आर्मी अर्थात् पिएलएले जाडो सुरु हुनासाथ भारतसँगको विवादित सीमा क्षेत्रमा तैनाथ सैनिकहरूका लागि सुविधा बढाएको छ ।चिनियाँ सरकारी मिडियाका अनुसार भारतसँगको विवादित सीमामा खटिएका सैनिकहरुको अवस्थालाई ध्यानमा राख्दै सुविधा बढाइएको हो । ‘जाडोमा चीन र भारतबीच कुनै द्वन्द्व हुने आशंका छैन । तर छिटपुट झडप हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

यहीकारण पिएलए पूर्ण रुपमा तयार रहनुपर्छ,’ पर्यवेक्षकलाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले लेखेको छ । भारत र चीनबीच जारी गतिरोधलाई ध्यानमा राख्दै पिएलएले रासनको आपूर्ति लाईनहरुलाई व्यवस्थित गर्ने विषयमा ध्यान दिएको समाचारमा उल्लेख छ । कठिन जाडो, विशेषगरी तापक्रम शून्य डिग्रीभन्दा तल पुगेका

बेलामा पनि सैनिकहरु लामो समयसम्म सीमामा डटेर रहन सकुन् भन्ने उद्देश्यले यस्तो गरिएको चिनियाँ आधिकारिक सैन्य आउटलेट्सको हवाला दिँदै भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले लेखेको छ । तेज हावालाई रोक्न सहयोग मिल्ने एउटा प्रविधि सैनिकका लागि तयार गरिएको पिएलए डेलीले गत साता जनाएको थियो ।